एसडी मुनी र नेपाल-चीन सम्बन्ध: डा. तुलसी उप्रेती

एसडी मुनी र नेपाल-चीन सम्बन्ध: डा. तुलसी उप्रेती


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ चैत्र २०७२
  • 13.5K
    Shares

भारतीय प्राध्यापक एसडी मुनीले आफ्नो एक लेखमा भनेका छन्, ‘ओली सत्ता लम्ब्याउन महेन्द्रको बाटो हिँडे।’ मुनीले नेपालले भर्खरै चीनसँग गरेका सम्झौताबाट नआत्तिन पनि भारत सरकारलाई आग्रह गरेका छन्। नेपाल र चीनबीच भएका सम्झौताको अवमूल्यनसमेत गर्न खोजेका छन्। ‘नेपाल विशेषज्ञ’ को पगरी गुथेका प्राध्यापक मुनीका सोच, विचार, विश्लेषण र सुझाव नेपाल र नेपालीका हितमा छ भन्न सकिँदैन, यसका आधारमा।
मुनी आफूलाई नेपालका विशेषज्ञ भन्न रुचाउँछन् भने पृथ्वीनारायण शाहपछि आजसम्म नेपाल र नेपालीको हितका लागि महेन्द्रले भन्दा बढी काम अरू कुनै शासकले गरेका छैनन् भन्ने तथ्य उनलाई जानकारी हुनैपर्छ। राजा महेन्द्रले भारतका अतिरिक्त विश्वका अन्य देशहरूसँग कूटनीतिक सम्बन्ध बढाउँदै अन्तर्राष्ट्रिय जगत्मा स्थापित गरेर नेपालको अस्तित्व मजबुत बनाउँदा के भूल गरे र नेपालीलाई यसले के हानि गर्यो? धेरैजसो भारतीयलाई राजा महेन्द्रको दूरदर्शिता र उनले चालेको राजनीतिक, आर्थिक र कूटनीतिक कदमले आज पनि पोलिरहेको छ।
ओलीले चीनसँग सन्धि गरेर राजा महेन्द्रको बाटो पछ्याएकै हुन् भने त्यो कदमलाई नेपाली जनताले स्वागत गर्नैपर्छ । तर महेन्द्रले गरेका कामको श्रेय ओली सरकारलाई दिन भने सकिँदैन। ओलीको सत्ता चीन जाँदैमा लम्बिन्छ भन्नुमा कुनै तुक छैन। सत्ता आउनु र जानु अनि ढिलो र चाँडो हुनु भन्ने तर्कवितर्क संसारकै देशमा विगतमा पनि थियो, आज पनि छ र भोलि पनि जारी रहनेछ।
ओली सरकार त्यसको अपवाद बन्न सक्दैन । यो सरकार आफैँ गह्रौँ भारी बोकेर हिँडेको छ र कतिसम्म बोक्न सक्छ, त्यो उसैमा भर पर्छ। त्यसैले ओली चीन जाँदैमा उनको सरकारको आयु बढ्छ र नजाँदा घट्छ भन्ने तर्कको कुनै सार्थकता छैन । तर पनि जनताका मनमा नकारात्मक बीउ रोपिनेछ । तर त्यो बीउ ठिमाहा हो कि राम्रो हो भन्ने ठम्याउन काम जनताले गर्नुपर्छ । त्यसो भए ओलीले चीनभन्दा पहिला भारतकै भ्रमण गरेर आफू नेतृत्वको सरकारलाई अजम्बरी बनाए त?
ओली चीन गएर पारवहनलगायतका सन्धि गरेर आउँदा केही भारतीय राजनीतिज्ञ र विश्लेषकलाई पाच्य भएन । मुनीले भनेका छन्, ‘ओलीले गरेका सम्झौता ‘प्रतिबद्धताभन्दा पनि सांकेतिक रूपमा मात्र आएका छन्’ साथै चीनको तियान्जान बन्दरगाह नेपालबाट तीन हजार किलोमिटर टाढा छ। जब कि हल्दिया भारतको बन्दरगाहा एक हजार किलोमिटरको दूरीमा छ।’
भारतको हल्दिया या अरू कुनै बन्दरगाह जतिसुकै नजिक वा टाढा होस्, तर ती बन्दरगाह नेपालको सिमानामा नाकाबन्दी गरेर नेपाल र नेपालीलाई आर्थिक र नैतिक दृष्टिकोणले मरणान्त पारेर बारम्बार बन्द गरिन्छ भने तिनको के मतलब र प्रयोजन रह्यो र ? यसैले नेपालले टाढा या नजिक जहाँ होस्, पारवहन र बन्दरगाहको नयाँ विकल्प खोज्नैपर्छ । टाढा छ भनिँदैमा नेपाली र नेपालका शासक हात बाँधेर, मृत्यु रुँघेर बस्न सक्दैनन्।
मुनीले उहाँका तर्क र विश्लेषणका आधारमा भारतका शासकलाई भन्न सक्नुपर्यो- भारतबाट चीन पुग्न पनि हजारौँ किलोमिटर पार गर्नुपर्छ । अझ अमेरिका पुग्न त आधा पृथ्वी नै छिचोलेर जानुपर्छ । त्यस्तो टाढाका मुलुकसँग किन राजनीतिक, कूटनीतिक, आर्थिक र व्यापारिक सम्बन्ध राख्छौ ? यस्तो दूर देशसँगको असम्भव कार्य नगर्नु नै भारतको कल्याण छ भन्न सक्नुपर्यो । कठिन कार्य गर्नु हुँदैन भने सगरमाथा आरोहण पनि बन्द गर्नुपर्यो, नत्र भने नेपालले चीनसँग राजनीतिक, कूटनीतिक, आर्थिक र व्यापारिक सम्झौता अघि बढाउँदा नेपालका विशेषज्ञ मुनीलाई किन छटपटी?
‘नेपालको राजनीतिक अस्थिरता र कमजोर प्रशासनले चीन सशंकित छ’ भन्ने मुनीको तर्कमा भने थोरै सहमत हुन सकिएला । नेपालमा राजनीतिक अस्थिरता अवश्य छ, साथै यहाँको प्रशासनयन्त्र कमजोर मात्र होइन, भ्रष्ट पनि छ। यस्तो अवस्थामा सम्बन्ध बढाउँदा चीन मात्रै होइन, जुनसुकै देशले पनि सर्तकता अपनाउनैपर्छ । चीन नेपालको राजनीतिक र प्रशासनप्रति सशंकित छ या छैन भन्ने मुनी नै जानून्।
राजनीतिक अस्थिरता र कमजोर प्रशासन त दक्षिण एसियाका प्रायः सबै देशमा छर्लंग देखिन्छ र यस्तो अवस्थामा चीनले पनि भारतसँग राजनीतिक, आर्थिक सम्बन्ध बढाउनै भएन नि । भारतको प्रशासन पनि शक्तिशाली, सक्षम र भ्रष्टाचारमुक्त छ भन्ने सोचाइ पचाउन सजिलो छैन। त्यसरी नै नेपालले चीनसँग गरेको र गर्न खोजेका सन्धि र सम्बन्धको अवमूल्यन गर्दै मुनी भन्छन्, ‘ल्हासा रेललाई सिगात्सेसम्म ल्याइएको छ।
 चीनको योजनाअनुसार सन् २०२० सम्ममा मात्रै यो रेल तिब्बतसम्म आइपुग्छ । मुनीले २०२० सम्ममा मात्रै रेल नेपाल सिमानामा आइपुग्ने भएकाले नेपालले चीनसँग रेलमार्गसम्बन्धी सन्धि गर्नु निरर्थक हो भन्ने सन्देश दिएका छन् । जसले गर्दा नेपाल पछि परोस् भन्ने उनको चाहना झल्किन्छ । २०२० भनेको जम्मा साढे चार वर्ष मात्र हो, यो कुनै ठूलो कुरा होइन । भारतले नेपालमा थालेका र गर्छु भनेका अनेकौँ योजना वर्षौंदेखि यसै थन्किएर बसेकोतर्फ हामीले के भन्ने नि?
मुनीले लेखेका छन्, ‘नेपालभन्दा भारत ठूलो बजार भएको कुरालाई नजरमा राखेर चीनले नेपालसँग सम्बन्ध राख्दा भारतको आँखामा हेर्ने गरेको छ।’ यो पढ्दा मनमा यस्तो खुल्दुली हुन्छ कि चीनसँग आफ्नै सोच्ने र विदेश नीति बनाउने क्षमता छैन । चीनसँग आफ्नै आँखा, आफ्नै बुद्धि र क्षमता छ। चीन भारतभन्दा आर्थिक दृष्टिकोणले अवश्य पनि कमजोर छैन र चीनले नेपाल नीति बनाउँदा भारतसँग डराउँदै बनाउनुपर्ने अवस्था छैन । अर्को कुरा चीनमात्रै होइन, भारतले पनि चीनसँग व्यापार गर्छ । त्यसैले चीन आफ्नै खुट्टामा उभिएर नेपालप्रतिको नीति बनाउन सक्षम छ।
नेपालले चीनसँग राजनीतिक, कूटनीतिक, आर्थिक र व्यापारिक सम्झौता अघि बढाउँदा नेपालका विशेषज्ञ मुनीलाई किन छटपटी?
प्राध्यापक मुनीका आलेखबाट नेपाली नेता, प्रशासक र जनताले पनि केही सिक्न र सिकेको पाठ अवलम्बन या कार्यान्वयन गर्न जरुरी छ, जसमा नेपाल र नेपालीको भविष्य र समृद्धिको सवाल जोडिएको छ। नेपाली नेताहरूले आफ्नो मूल्य र मान्यता स्थापित गर्न अनिवार्य छ। संसारको नजरमा उनीहरूको छवि पतन भइसकेको छ।
नेता र प्रशासकका कारणले गर्दा नै नेपाल र नेपालीको छविसमेत गिराएका छन्। त्यसैले सजिलो तर नमीठो शब्दमा भन्नुपर्दा ‘चोइ चोइ’ गर्दा गल्लीको भुस्याहा कुकुर के-के न खान पाइन्छ भनेर त्यतैतिर आँखै नहेरी दौडेजस्तै नेपालका नेता र प्रशासकले पनि जसले बोलायो त्यतै, जुन बेला पायो त्यही बेला दौडन बन्द गर्नुपर्यो। उनीहरूले आफूलाई एउटा छात्रवृत्ति, दुई बोतल रक्सी र दुई छाक भातमा बिकाउनु भएन। यस्ता नेता र प्रशासकका नैतिकहीन गतिविधि र बानीव्यहोराले देशको स्वार्थ भने ‘चोक्टा खान दिल्ली गएको नेपाली झोलमा डुबेर मर्यो’ भन्ने उखानमा परिणत भएको छ।
भारत या चीनलाई यो देशका प्राकृतिक स्रोत चाहिन्छ भने उनीहरूले गम्भीरताका साथ के बुझ्नुपर्यो भने नेपाल उनीहरूसँग खुसीसाथ व्यापारिक सम्झौता गर्न तयार छ। छिमेकी मित्रदेशले के बुझ्नुपर्यो भने नेपालका प्राकृतिक स्रोत सित्तैमा पाइँदैन र ठूलो शक्तिका आधारमा पेलेर मात्रै लिन पाइँदैन।
सित्तैमा लिन खोजे त्यो अनैतिक र अमानवीय कार्य हो। यी स्रोत केवल न्यायसंगत व्यापार सर्तहरूका आधारमा नेपालले अवश्य उपलब्ध गराउँछ। मित्रराष्ट्रहरूले ऋषिमन राखेर मानव र नैतिकताका आधारमा नेपाल र नेपालीलाई बाँच्ने र समृद्ध बन्ने अधिकार छ भन्ने तथ्य स्विकार्दै त्यसलाई व्यवहारमा परिणत गर्नुपर्यो।नेपालमा रहेका कूटनीतिक नियोगहरूले विशेष गरेर भारतका राजदूतले नेपालको कूटनीतिक मान, मर्यादा र सम्बन्धलाई अमूल्यन नगरी नेता र प्रशासकका घर, आँगन र गल्लीमा गएर आफ्नै मूल्य र मान्यतालाई अवहेलना गर्न रोक्नुपर्यो।
यसैगरी नेपालका खान र पिउन नपाएका नेता र प्रशासक क्षणिक लोभका सिकार बन्छन् र नेपालको स्वार्थ बिर्सेर नेपाल नै बेच्न उद्यत् हुन्छन्। नेताहरू केवल कागजको फूल (ब्याज) छातीमा टाँसेर भएनभएका फूलका माला र अबिरले सजिएर पढ्दै नपढेको किताब विमोचन गर्ने जस्ता काममा मात्रै देशको साधन र स्रोत दुरुपयोग बन्द गर्नुपर्यो।
एउटा सार्वभौम देशले आफ्नो स्वार्थका आधारमा भारतले अवलम्बन गरेजस्तै संसारको जुनसुकै देशसँग पनि राजनीतिक र आर्थिक सम्बन्ध बनाउने अधिकार छ र यसो गर्नु अपराध र षड्यन्त्र पनि होइन। त्यसैले नेपालले आफ्नो सम्बन्ध अरू देशसँग गाँस्दा न भारतले तर्सिनुपर्छ, न त चीनले पन्छिनुपर्छ।

प्रतिक्रिया