स्याङ्जा , ४ भदौ २०८३ ।
स्याङ्जाको वालिङ नगरपालिका–१२ कोखेबाट प्रहरीले ७ थान भरुवा बन्दुकसहित बन्दुक बनाउन प्रयोग हुने सामग्री बरामद गरेको छ।
वालिङ नगरपालिका–१२ कोखे बस्ने करिब १८ वर्षीय विराज विकको घरमा अनुमति बिना अवैध रूपमा भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचना पाएपछि वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा मर्मत गर्दै गरेको अवस्थामा ७ थान बेसाबुत भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ। साथै, भरुवा बन्दुकका ३ थान नाल र फ्रेम बनाउन प्रयोग हुने १ थान डाईसमेत बरामद गरिएको छ।
बरामद सामग्रीका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।