बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सौंरीमा आज दिउँसो दुई वटा कार एकापसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन्।
दाङको घोराहीबाट नेपालगंजतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार र विपरित दिशा अर्थात पूर्व तर्फ जाँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सौंरीमा शनिबार बिहान ९ बजेतिर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने अन्य छजना घाइते भएका छन्।
उक्त दुर्घटनामा परि कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भइ हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता डिएसपी प्रतितसिंह राठोरले जानकारी दिए।
प्रबक्ता डिएसपी राठोरका अनुसार शाही सवार कारका चालक डोटी, साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाही पनि घाइते छन् । उनको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकलमा उपचार भइ रहेको छ । सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाही घाइते छन् । उनीहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै अर्कौ कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते छन । उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सामान्य घाइते भएका अर्को कारका चालक घोराही –७ सौरियारका ४० वर्षीय सम्राट नाथ योगीलाई आबश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कुसुमले नियन्त्रणमा लिएको प्राप्त समाचारमा जनाइएको छ ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।