विद्यालयकी छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा नवलपरासीको सुस्तास्थित बोर्डिङ स्कुलका प्रधानाध्यापक पक्राउ

विद्यालयकी छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा नवलपरासीको सुस्तास्थित बोर्डिङ स्कुलका प्रधानाध्यापक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ साउन २०८३
  • 2K
    Shares

bharat_neupane

पोखरा , ३१ साउन २०८३।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१, सिंगाहास्थित श्री न्यू लाइफ इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका प्रधानाध्यापक भरत न्यौपाने बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्।

विद्यालयकी एक बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शनिबार इलाका प्रहरी कार्यालय बेलाटारीमा किटानी जाहेरी परेपछि न्यौपानेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन थापाले जानकारी दिए।

पीडित बालिकाले दिएको जानकारीअनुसार न्यौपानेले पछिल्लो करिब ६ महिनादेखि रातिको समयमा मोबाइलमार्फत यौनजन्य तथा अश्लील सन्देश पठाउने र विभिन्न प्रलोभन देखाउने गरेको आरोप छ। सन्देशको जवाफ नदिँदा भोलिपल्ट विद्यालयमा बोलाएर धम्क्याउने तथा अनुचित चाहना व्यक्त गर्ने गरेको बालिकाको भनाइ छ।

प्रधानाध्यापकको गतिविधिबारे जानकारी पाएपछि विद्यार्थीहरूले बुधबार विद्यालय परिसरमै विरोध प्रदर्शनसमेत गरेका थिए। प्रदर्शन चर्किएपछि स्थिति नियन्त्रणमा लिन विद्यालय प्रशासनले प्रहरी बोलाएको थियो।

यता, विद्यालय प्रशासनले भने प्रधानाध्यापक न्यौपानेको मोबाइल ह्याक भएको दाबी गरेको छ। प्रशासनले मोबाइल ह्याक भएको भन्दै प्रहरीमा साइबर अपराधसम्बन्धी निवेदनसमेत दिएको जनाएको छ। तर, स्थानीय अभिभावकहरूले भने विद्यालयमा यसअघि पनि यस्ता अवाञ्छित घटना हुने गरेको र ती घटनालाई गुपचुप रूपमा मिलाउने गरिएको आरोप लगाएका छन्।

प्रहरीका अनुसार साउन २७ गते प्राप्त सामान्य निवेदनका आधारमा नै आरोपितको मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो। अहिले किटानी जाहेरी परेपछि न्यौपानेलाई पक्राउ गरिएको हो।

पक्राउ परेका न्यौपानेलाई आइतबार अदालतमा उपस्थित गराई म्याद थप गरेर घटनाबारे थप अनुसन्धान अघि बढाइने डिएसपी थापाले बताए।

प्रतिक्रिया