पोखरा, २ मंसीर २०८३।
पोखरा महानगरपालिकाको वडा नम्बर ३३ की कार्यालय सहयोगी वर्षा आचार्य अचानक सम्पर्कबिहीन भएकी छिन्।
कार्यालय सहयोगी आचार्य सम्पर्कबिहीन भएपछि उनको खोजीमा सहयोग गरिदिन वडाध्यक्ष रामचन्द्र अधिकारीले सार्वजनिक रुपमा अपिल गरेका छन्।
वडाध्यक्ष अधिकारीले आज एक अपिल प्रकाशित गर्दै कार्यालय सहयोगी आचार्यको खोजीमा सहयोग गरिदिन अपिल गरेका छन्। वडाध्यक्ष अधिकारीको सार्वजनिक अपिलमा कार्यालय सहयोगी आचार्य मंगलबार बिहान चार बजेदेखि सम्पर्कबिहीन भएको उल्लेख गरिएको छ। त्यस अपिलमा भनिएको छ,“पोखरा महानगरपालिका वडा कार्यालय वडा नं. ३३ वागमारा कालिकास्थानमा कार्यालय सहयोगीको रुपमा कार्यरत कर्मचारी वर्षा आचार्य यही मिति २०८३।०६।०१ गते विहान अन्दाजी ४:०० बजे वाट सम्पर्क विहीन हुनुभएको भनी पारिवारीक स्रोत वाट जानकारी प्राप्त हुन आएकोले देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय वा ९८५६००३०३३, ९८५६०६६१६० मा सम्पर्क गरीदिनुहुन अनुरोध गर्दछौ ।”
साँझ छोराछोरीलाई खाना खुवाएर संगै सुतेकी आचार्य भोलिपल्ट बिहानैदेखि सम्पर्कबिहीन भएको सुचना प्राप्त भएको वडाध्यक्ष अधिकारीले जानकारी दिए। एक छोरा र एक छोरीका आमा वर्षा आचार्य २०७४ सालदेखि वडा कार्यालयमा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएकी छिन। उनको श्रीमान्को यस अघि नै निधन भैसकेको वडाध्यक्ष अधिकारीले बताए।
उनको खोजीका लागि पिडित परिवारले प्रहरीमा समेत निवेदन दिएका छन्। उनको खोजीमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरीहरु लागि परेका छन्। प्राबिधिक रुपमा समेत उनको खोजी शुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नबिन कार्कीले जानकारी दिए।