सहकारीको रकम ठगी आरोपमा बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ

सहकारीको रकम ठगी आरोपमा बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ मंसिर २०८३
  • 1.1K
    Shares

shiva kumar bk-बराह ग्रुप

काठमाडौँ, २ मङ्सिर २०८३।

बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) पक्राउ परेका छन्।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले पुष्टि गरे।

यसअघि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पूर्वलाई न्याय भएको बताएका छन्। उनले बराह सहकारीका मुख्य योजनाकार पक्राउ परेको उल्लेख गरेका छन्।

गुरुङले एक वर्षअघि धरानमा ‘सेभ घोपा’ अभियानका क्रममा बचतकर्ताहरूको पीडाले आफूलाई सधैँ झकझकाइरहेको बताएका छन्। गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि पूर्वका नागरिकको पीडालाई न्याय दिन खोजी तीव्र पारिएको उनको भनाइ छ।

उनले ५ अर्ब ८८ करोडभन्दा बढीको बिगो हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएको र अब क्रमबद्ध रूपमा बाँकी दोषीहरूलाई खोजी तथा कारबाहीको प्रक्रिया तीव्र बनाउने बताएका छन्।

बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले धरानसहित देशभरका ४ हजार ७ सय ७२ जनाभन्दा बढीको १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोप लाग्दै आएको छ। बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि लामिछाने फरार थिए।

संस्थाका अध्यक्षसहित सञ्चालक फरार भएपछि रकम फिर्ताको माग राख्दै पीडितहरूले उजुरी दिएका थिए। उजुरीपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी निरीक्षक दिनेश अधिकारीको नेतृत्वमा अनुसन्धान गरेको थियो।

अनुसन्धान प्रतिवेदनले कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९ सय १३ रुपैयाँ हिनामिना तथा अपचलन गरी ठगी भएको निष्कर्ष निकालेको छ। सहकारीका मुख्य सञ्चालक मानबहादुर विश्वकर्मा, गंगा कालिकोटेलगायतका व्यक्ति भने अझै फरार छन्।

बचतकर्ताको रकममध्ये सबैभन्दा बढी हिनामिना शिवकुमार लामिछानेले गरेको अभियोगपत्रमा उल्लेख छ। उनले मात्र २ अर्ब ७१ करोड ३१ लाख ६० हजार २४ रुपैयाँ हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार