पोखराको सिर्जनाचोकस्थित इमेज बचत तथा ऋण सहकारीको रकम हिनामिना मुद्दामा कास्की जिल्ला अदालतले संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई आठ वर्ष कैद र एककरोड २६ लाख २३ हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको छ।
न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलाश कात्तिक १७ गते देवकुमारसहित सातजनालाई कैद सजाय, जरिबाना र बिगो असुल गर्ने फैसला गरेको हो। फैसलाको पूर्णपाठ भने आइसकेको छैन।
अदालतका अधिकृत तारानाथ पोखरेलका अनुसार २०८२ कात्तिक २५ गते जिल्ला अदालतमा दायर भएको पूरक अभियोगपत्रका आधारमा फैसला भएको हो।
कसलाई कति सजाय ?
फैसलाअनुसार सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद र एककरोड २६ लाख २३ हजार रुपैयाँ जरिबाना तोकिएको छ।
त्यस्तै निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद र समान जरिबाना हुने फैसला भएको छ।
अदालतले सात जनाबाट १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगो असुल गर्नुपर्ने ठहर गरेको छ। यस मुद्दामा अझै आठ जना फरार छन्। उनीहरूको हकमा पूर्णपाठ आएपछि मात्र स्पष्ट हुने अदालतले जनाएको छ।
पांच सय २४ जाहेरीबाट शुरु भएको मुद्दा
शुरुमा पांचसय २४ जनाको जाहेरीका आधारमा ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ बिगो मागदाबी गर्दै २०८० भदौ १२ गते कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर भएको थियो।
त्यसमध्ये पांच किस्तामा चारसय जनाको मिलापत्र भएको थियो। बाँकी एकसय १० जनाको जाहेरीका आधारमा झण्डै १८ करोड बिगो मागदाबी गर्दै १५ जनाविरुद्ध अभियोगपत्र दायर गरिएको थियो। त्यही अभियोगपत्रका आधारमा फैसला भएको हो।
“शुरुमा भएको जाहेरी र मागदाबीमा मिलापत्र भएपछि न्याय प्रक्रियाबाट अलग भएका बाहेक कमलप्रसाद पौडेलसमेत एकसय १० जनाको जाहेरीको आधारमा अभियोग दर्ता भएको हो,” अधिकृत पोखरेलले भने।
इमेज सहकारीको सम्पत्ति, ऋणीबाट असुल गर्ने र सबै बचतकर्ताको रकम कसरी फिर्ता गर्ने भन्ने विस्तृत कुरा फैसलाको पूर्णपाठबाट मात्र थाहा हुने उनले बताए।
इमेज सहकारीका संस्थापक अध्यक्ष नेपाली, उनकी श्रीमती छेला नेपाली, छोरा सन्तोष नेपालीसहित सञ्चालक, लेखा समिति र व्यवस्थापनमा संलग्न व्यक्तिहरूले बचत रकम हिनामिना पारेको आरोप थियो।
सहकारीको बचत तथा शेयर रकम हिनामिना गर्ने, ऋण असुली नहुने गरी आफूखुसी कर्जा प्रवाह गर्ने, नातेदार तथा अन्य व्यक्तिलाई ऋण दिने र संस्थाको रकम दुरुपयोग गर्ने अभियोग उनीमाथि थियो।
देवकुमार २०८० वैशाख ७ गते सहकारी कार्यालय बन्द गरेर सम्पर्कविहीन भएका थिए। उनी २०८० जेठ ४ गतेदेखि फरार भएका थिए। प्रहरीले पक्राउ गर्न नसकेपछि २०८० माघमा इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो।
करिब डेढ वर्ष फरार रहेका नेपालीलाई २०८१ असोज ११ गते भारतको नयाँदिल्लीबाट पक्राउ गरिएको थियो। नेपाल ल्याइएपछि असोज १५ गते जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
२०८२ जेठमा कास्की जिल्ला अदालतमा उपस्थित गराइएका उनलाई जेठ १२ गते कास्की अदालतले पनि पुर्पक्षका लागि थुनामा पठाएको थियो। उनी बागलुङ कारागारमा थुनामा थिए।
मेयरदेखि ठगी मुद्दासम्म
दोस्रो कार्यकालका लागि बागलुङको ढोरपाटन नगरपालिकाको मेयरमा विजयी भएका देवकुमारले बचतकर्ताको रकम व्यक्तिगत स्वार्थ र सम्पत्ति आर्जनमा खर्च गरेको अनुसन्धानमा देखिएको थियो।
उनले बागलुङ, पोखरा, काठमाडौं, चितवनलगायत विभिन्न ३३ ठाउँमा जग्गा किनेको भेटिएको थियो। बागलुङ र पोखरामा रहेको उनको सहकारीको भवनसहितको घरजग्गा बैंकले लिलामी गरिसकेको छ।
बागलुङमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि विचाराधीन अवस्थामै छ।
बागलुङमा अझै फैसला बाँकी
बागलुङमा देवकुमारसहित ११ जनाविरुद्ध २०८० असार २५ गते सहकारी ठगी मुद्दा दायर भएको थियो। त्यहाँ १ हजार ५४३ जनाको जाहेरीका आधारमा १ अर्ब ३० करोड ७६ लाख ९८ हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो।
बागलुङमा करिब १ अर्ब ५ करोड ३० लाखको मिलापत्र भइसकेको छ। पछिल्लो समय पनि ७ करोड ३४ लाख रुपैयाँ मिलापत्र भएको र अब २५ करोड ३० लाख रुपैयाँ हाराहारीमा बाँकी रहेको सरकारी वकिलको कार्यालय बागलुङले जनाएको छ।
बचतकर्तालाई अझै उस्तै प्रश्न
सहकारी ठगीको अभियोगमा जेल पुगेका सञ्चालकलाई अदालतले कैद सजाय सुनाए पनि आफ्नो रकम कहिले र कसरी फिर्ता पाउँछन् भन्ने बचतकर्ताको प्रश्न कायमै छ।
बचतकर्ता हरि कार्कीले अदालतले तोकेको बिगो र जरिबाना असुली तथा सहकारीको सम्पत्ति व्यवस्थापनबाट पीडितले वास्तविक रूपमा कति रकम प्राप्त गर्छन् भन्ने नै मुख्य कुरा भएको बताए।
सरकारी वकिलको कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले देशैभरि चासो र धेरै पीडित जोडिएको पोखराको इमेज सहकारीको मुद्दा अब निरुपण हुन सक्ने बताए।
कास्की जिल्ला अदालतको फैसलामा चित्त नबुझे पूर्णपाठ आएपछि देवकुमार उपल्लो अदालतमा पुनरावेदनका लागि जानेछन्।