रौतहट , ३० कार्तिक २०८३।
रौतहटमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई जना किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
जिल्लाको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर आज दिउँसो करिब ४ बजे अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा यमुनामाई नगरपालिका–५ जमुआ टोल निवासी १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो । तर, चिकित्सकले दिउँसो ४ः३० बजे उनीहरूलाई मृत घोषणा गरेका थिए ।
त्यस्तै, दुर्घटनामा यमुनामाई नगरपालिका–५ झुनखुनवा निवासी १५ वर्षीय आकाश पासवान र भारतको सीतामढी जिल्ला भकुरहर ग्राम निवासी १७ वर्षीय सुनिल पासवान घाइते भएका छन् ।
घाइते आकाशको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ भने टाउकोमा चोट लागेका सुनिललाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । दुवै घाइतेको अवस्था मध्यम रहेको बताइएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।