भीमफेदी ईभी दुर्घटना अपडेट : सर्लाहीको सुन्दरपुरटोल शोकमग्न , एकै परिवारका पांचसहित १४ जनाको मृत्यु

भीमफेदी ईभी दुर्घटना अपडेट : सर्लाहीको सुन्दरपुरटोल शोकमग्न , एकै परिवारका पांचसहित १४ जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ कार्तिक २०८३
  • 1.3K
    Shares

पोखरा, २६ कार्तिक २०८३ ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल यति बेला शोकमग्न भएको छ। आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा भएको यात्रुवाहक हाइस दुर्घटनामा परेर एकै परिवारका पाँचसहित १४ जनाको मृत्यु भए पछि सुन्दरपुरटोल यति बेला शोकमग्न भएको हो ।

उक्त दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेले जानकारी दिए।

मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल,सर्लाही चक्रघट्टा गा.पा.४ सुन्दरपुरटोल बस्ने राकेश यादव,सुरेश यादव र सोही बस्ने छोटु यादव ,२६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, उनका छोराछोरी ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव र १० वर्षीया अनु कुमारी यादवको मृत्यु भएको छ ।

यसैगरी, ३५ देखि ३६ वर्षका गुड्डु यादव, उनकी श्रीमती ३० देखि ३२ वर्षीया गायत्री देवी, २५ देखि २६ वर्षका रामदुलार यादव, २४ देखि २५ वर्षका सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरटोलका २६ वर्षीय विकेश यादव, ३५ वर्षीया पुनम यादव, सात वर्षीया दीक्षा यादव, पाँच वर्षीया दिपिका यादव, १० वर्षीया अनुकुमारी यादव, ३६ वर्षीय गुड्डु यादव, ३२ वर्षीया गायत्री देवी, २६ वर्षीय रामदुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको ज्यान गएको छ। 

डीएसपी काफ्लेका अनुसार पुनम, विवेक, दीक्षा, दिपिका र अनु एउटै परिवारका सदस्य हुन्। दिक्षा, दिपिका र अनु पुनमका छोरी हुन्। 

घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । घाइतेमध्ये ३३ वर्षीय मुकेश यादव र ५ वर्षीय सक्षम कुमार यादव उपचारपछि डिस्चार्ज भएका छन् ।

त्यस्तै, ३ वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल रिफर गरिएको छ । ३१ वर्षीय बेचु भन्ने देवेन्द्र रायलाई थप उपचारका लागि भरतपुरको मनकामना अस्पताल रिफर गरिएको छ । अर्का २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन् ।

छठ पर्व मनाउन मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको हाइस इभी गाडी रिजर्भ गरेर काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गर्दा बिहीबार बिहान करिब ५ः४५ बजे सडकबाट करिब पाँच सय मिटर तल भिरमा खसेर दुर्घटनाग्रस्त भएको हो। यात्राका क्रममा अधिकांश निदाइरहेका थिए। गाडी भिरमा खसेपछि मात्रै दुर्घटनाबारे थाहा पाएको उनीहरूको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार