मकवानपुरको भीमफेदीमा चालकले रोकीराखेको गाडी स्टार्ट गर्नासाथ भीरबाट खसेको खुलासा

मकवानपुरको भीमफेदीमा चालकले रोकीराखेको गाडी स्टार्ट गर्नासाथ भीरबाट खसेको खुलासा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ कार्तिक २०८३
  • 209
    Shares

मकवानपुर, २६ कार्तिक २०८३।

मकवानपुरको भीमफेदीमा चालकले रोकीराखेको गाडी स्टार्ट गर्नासाथ हुँइकिदै भीरबाट खसेको खुलासा भएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा आज बिहान भएको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक इभि गाडी दुर्घटनामा बाँच्न सफल एक जना घाइतेले त्यस्तो खुलासा गरेका हुन्।

चालकले मादक पदार्थ सेवन गरे / नगरेको बारे आफुलाई थाहा नभएको बताएका एक घाइतेले चालक एकदम ठुलो निद्राले ग्रस्त भएको बताए।

सोही दुर्घटनामा इभी चालक सर्लाही कविलासी नगरपालिका–८ का रविशङ्कर कुमार मण्डल को उक्त दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

दुर्घटनामा मृत्यु भएका १० जना तथा घाइते भएका अधिकांश सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका बासिन्दा रहेको घाइतेले जानकारी दिए। प्रहरीका अनुसार दुर्घटनामा तीन महिला, पाँच पुरुष र दुई बालिकासहित १० जनाको मृत्यु भएको छ।

बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौं बाट सर्लाहीका लागि आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी हाइस सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका तीन जनालाई बिहान करिब ७ः४० बजे हेटौंडा अस्पताल पुर्‍याएर उपचार भइरहेको छ। घाइते हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र तीन वर्षीय सुदन यादव रहेका छन्।

घाइते मुकेशको टाउको र ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। त्यस्तै, सक्षमको शरीरमा भित्री चोट लागेको र अवस्था सामान्य रहेको छ भने सुदनको टाउको तथा मुखमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।

दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी रहेको छ। प्रहरीले घटनास्थलमा उद्धार कार्य सम्पन्न गर्दै मृतकको पहिचान तथा दुर्घटनाबारे थप अनुसन्धान र विवरण संकलन गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार