पोखरा, २६ कार्तिक २०८३ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहानै भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ ।
इभी चालक सर्लाही कविलासी नगरपालिका–८ का रविशङ्कर कुमार मण्डल को उक्त दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन् ।
प्रहरीका अनुसार, उक्त दुर्घटनामा घाइते भएका छ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइतेहरु मध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र तीन वर्षीय सुदन यादवको पहिचान खुलिसकेको छ।
काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक इभी बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकबाट करिब ५०० मिटर तल झरेको थियो । अन्य मृतकको पहिचान तथा दुर्घटनाका कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।