अमेरिका, २७ कार्तिक २०८३।
अमेरिकाको राजधानी वासिङ्टन डिसीमा बिहीबार बिहान भएको गोलीकाण्डमा आक्रमणकारीसहित दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
वासिङ्टन डिसीका प्रहरी प्रवक्ताले बीबीसीलाई बताएअनुसार घटनामा गोली हान्ने व्यक्तिसमेत दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ८ बजे ह्वाइट हाउसबाट १.६ किलोमिटर टाढा रहेको एक फिटनेस सेन्टरमा गोली चलेको थियो। आक्रमणकारीले शुरुमा जिमभित्र एक व्यक्तिलाई गोली हानेपछि बाहिर पार्किङ ग्यारेजमा समेत गोली चलाएका थिए।
घाइते चारै जनालाई अस्पताल लगिएको छ। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ। घटनापछि प्रहरीले क्षेत्रलाई घेराबन्दी गरी सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको थियो।
प्रहरीका अनुसार गोली चलाउने व्यक्ति गोरा पुरुष हुन्। उनले आफैँलाई गोली हानेको प्रारम्भिक अनुमान छ। अपार्टमेन्ट भवनको घरधनी सँगको विवाद घटनाको कारण हुन सक्ने आशंका गरिए पनि प्रहरीले यसको पुष्टि गरेको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।