जनकपुरधाम, २७ कार्तिक २०८३ ।
सूर्यदेव र षष्ठीदेवी अर्थात् छठीमाताको आराधना तथा उपासनाको महान् पर्व छठ आज कात्तिक २७ गतेदेखि विधिवत् रूपमा सुरु भएको छ। चार दिनसम्म श्रद्धा, निष्ठा र भक्तिभावका साथ मनाइने यस पर्वले मिथिलाञ्चलसहित तराई–मधेसका विभिन्न जिल्लामा धार्मिक तथा सांस्कृतिक रौनक थपेको छ।
प्रकृति, जल, सूर्य र मानव जीवनबीचको सम्बन्धलाई आत्मसात् गर्ने छठ पर्वका अवसरमा नदी, तलाउ, पोखरी तथा अन्य धार्मिक महत्त्वका जलाशयहरूमा छठघाट निर्माण, सरसफाइ र सजावट गरिएको छ। स्थानीयवासी, युवा क्लब, सामाजिक संघसंस्था तथा विभिन्न समितिहरूले सामूहिक रूपमा घाट व्यवस्थापन गरेका छन्। कतिपय स्थानमा आकर्षक पण्डाल, स्वागतद्वार र झिलिमिली बत्ती जडान गरी घाटलाई उत्सवमय बनाइएको छ।
गाउँघरमा पनि छठको विशेष चहलपहल देखिएको छ। बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ताहरू लिपपोत तथा रङरोगन गरेर चिटिक्क पारिएका छन्। सडक, घर, चोक र सार्वजनिक स्थलहरूमा रंगीचंगी बत्ती जडान गरिएका छन्। आर्थिक अवस्था जे-जस्तो भए पनि श्रद्धालुहरू आफ्नो क्षमताअनुसार पर्व मनाउने तयारीमा जुटेका छन्।
मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन आज ‘नहाय–खाय’ विधि गरिन्छ। यस दिन व्रतालुहरू पवित्र स्नान गरी शुद्ध र सात्त्विक भोजन ग्रहण गर्छन्। दोस्रो दिन ‘खरना’ मनाइन्छ। यस दिन दिनभर उपवास बसेर साँझ छठीमाताको पूजा गरी प्रसाद ग्रहण गर्ने परम्परा छ। खरनापछि व्रतालुको कठोर निर्जला व्रत सुरु हुन्छ।
पर्वको तेस्रो दिन अर्थात् षष्ठी तिथिमा व्रतालुहरू अस्ताउँदो सूर्यलाई नदी, पोखरी तथा जलाशयमा उभिएर अर्घ्य अर्पण गर्छन्। यस अवसरमा ठेकुवा, भुसुवा, फलफूल, उखु, नरिवललगायतका प्रसाद बाँसका सुप, नाङ्लो र डालामा सजाएर सूर्यदेव तथा छठीमातालाई अर्पण गरिन्छ। चौथो दिन सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ पर्व विधिवत् रूपमा सम्पन्न हुन्छ।
छठ पर्वलाई सूर्य उपासनासँगै प्रकृति संरक्षण, शुद्धता, अनुशासन, आत्मसंयम र पारिवारिक कल्याणसँग जोडिएको पर्वका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार सूर्यदेवको आराधना गर्दा सुख, शान्ति, समृद्धि, आरोग्य तथा सन्तानको दीर्घायु प्राप्त हुने विश्वास गरिन्छ। यस पर्वमा महिला तथा पुरुष दुवैले व्रत बस्ने र परिवारको सुख, समृद्धि तथा कल्याणको कामना गर्ने परम्परा छ।
छठको अर्को महत्त्वपूर्ण पक्ष यसको सामाजिक एकता र सद्भाव हो। यस पर्वले जातीय, वर्गीय तथा सामुदायिक विभेदलाई भुलाएर सबैलाई एउटै घाटमा एकत्रित गराउँछ। धनी–गरिब, उच्च–नीचको भेदभाव नगरी सबैले एउटै लहरमा बसेर सूर्यदेवको आराधना गर्ने परम्पराले सामाजिक समानता र सहअस्तित्वको सन्देश दिन्छ।
वर्षभरिका मनमुटाव र असमझदारी बिर्सेर आफन्त, छिमेकी तथा समुदायका मानिसहरू एकै ठाउँमा भेला हुने भएकाले छठलाई आपसी सद्भाव, मेलमिलाप र भाइचाराको पर्वका रूपमा पनि लिइन्छ। यसले नयाँ पुस्तालाई मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
विशेषगरी मिथिला क्षेत्रमा छठको सांस्कृतिक महत्त्व अझ विशिष्ट छ। छठका पारम्परिक लोकगीत, भजन, प्रसाद निर्माण र घाटमा गरिने सामूहिक पूजाले यस क्षेत्रको मौलिक पहिचानलाई जीवन्त बनाएको छ। पछिल्लो समय देशका विभिन्न सहर तथा विदेशमा रहेका नेपाली समुदायले समेत सामूहिक रूपमा छठ मनाउन थालेपछि यसको सांस्कृतिक विस्तार अझ फराकिलो बन्दै गएको छ।
यसरी छठ पर्व धार्मिक आस्था र सूर्य उपासनामा मात्र सीमित नभई प्रकृतिप्रतिको सम्मान, सामाजिक समानता, सामूहिक सहभागिता, पारिवारिक सुख र सांस्कृतिक पहिचानको सन्देश बोकेको महत्त्वपूर्ण पर्वका रूपमा स्थापित छ।