पोखरा, ३० कार्तिक २०८३ ।
बझाङमा अटो रिक्सा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ।
टुमेडा गाउँबाट बुङ्गल नगरपालिका-११ हिनगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ह ७९९८ नम्बरको अटो आइतबार बिहान करिब १० बजेर २० मिनेटको समयमा बुङ्गल नगरपालिका वडा नम्बर १० टुमेडामा दुर्घटनाग्रस्त हुँदा चारजनाको मृत्यु भएको हो।
दुर्घटनामा मृत्यु हुनेमा बुङ्गल नगरपालिका वडा नम्बर १० निवासी ३५-४० वर्षीया राजमती महरा, १५- १६ वर्षीया तारा महरा र ५- ६ वर्षीया डल्ली महरा र चारवर्षीय रियास महरा रहेका छन् । अन्दाजी १२/१३ वर्षीय बिक्रम महरा सकुशल घरतर्फ गएको बुझिएको छ ।
उक्त अटोको ब्रेक फेल भएर सडकबाट करिब नौसय मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।
अटोमा चारदेखि पाँच जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको र एक बालक अझै फेला पर्न नसकेको जनाइएको छ । दुर्घटनामा घाइते भएकाहरूको उद्धार कार्य भइरहेको छ । अटो चालक बुङ्गल नगरपालिका-११ बस्ने २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बेपत्ता बालकको खोजी तथा उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुङ्गलका प्रहरी सहायक निरीक्षक बिरबहादुर ठगुन्नाले बताए ।
मृत्यु हुनेमा:
१. बुङ्गल नगरपालिका-१० बस्ने अन्दाजी ३५/४० वर्षीया राजमति महरा
२. ऐ.ऐ. बस्ने अन्दाजी १५/१६ वर्षीया तारा महरा
३. ऐ.ऐ. बस्ने अन्दाजी ५/६ वर्षीया डल्ली महरा
४. ऐ.ऐ. बस्ने अन्दाजी ४ वर्षीय रियास महरा