पोखराको बालसुधार गृहबाट भागेका बालबन्दी चोरीको तयारी गर्दै गर्दा पक्राउ

पोखराको बालसुधार गृहबाट भागेका बालबन्दी चोरीको तयारी गर्दै गर्दा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ मंसिर २०८३
  • 399
    Shares

पोखरा, ३० कार्तिक २०८३ ।

पोखराको सराङकोटस्थित बालसुधार गृहबाट भागेका एक बालबन्दी चोरी गर्ने तयारी गरिरहेका बेला ह्यामरसहित पक्राउ परेका छन् ।

पोखरा लेकसाइडस्थित स्ट्रिट नम्बर १९ मा राति १ बजे उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

सुरक्षाकर्मीकै आँखा अगाडि पर्खाल नाघेर भागेका १८ वर्षीय ती बालबन्दीको खोजीमा राजमार्गमा बेरिकेड राखेर चेकजाँच गरिएको थियो भने कुकुरसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

झन्डै एक सय जना प्रहरी परिचालन गरेर कास्की प्रहरीले ती बालबन्दीलाई भागेको १८ घण्टापछि पोखराको लेकसाइडमा चोरी गने तयारी गरिरहेका बेला पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

यी बालबन्दी यसअघि पनि २०८२ पुस २४ गतेदे उपचारका लागि अस्पताल लैजाने क्रममा फरार भएका थिए । त्यतिबेला उनी २०८३ जेठ ४ गते इटहरीबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई पुनः सराङकोटस्थित बालसुधार गृहमा लगिएको थियो । उनी आइतबार फेरि भागेका थिए । प्रहरीले उनलाई पक्राउ गरी कारागार ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।

पाँचथरका यी बालबन्दीमाथि चोरीसम्बन्धी दुईवटा मुद्दा छन् । पाँचथरमा चोरी गरेपछि उनी पोखरा आएका थिए । पोखराको एक होटलमा काम गर्ने क्रममा फेरि चोरी गरेपछि उनलाई बालसुधार गृह पठाइएको थियो ।

बालसुधार गृहमा प्रहरी पोसाक लगाएर बस्न नपाइने, हतियार बोक्न नपाइने र प्रहरीको दरबन्दी समेत नहुँदा सुरक्षामा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ । क्षमताभन्दा दोब्बर संख्यामा बालबन्दी राख्नुपर्दा पनि समस्या भइरहेको छ ।

सराङकोटस्थित बालसुधार गृहमा यसअघि आगजनी, विवाद र चक्कु प्रहारसम्मका घटना भएका थिए । यसअघि पनि पछाडिबाट पर्खाल नाघेर तीन जना बालबन्दी भागेका थिए ।

जेनजी आन्दोलनका क्रममा यहाँबाट १०९ जना बालबन्दी भागेका थिए । तीमध्ये आठ जना अझै फरार छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार