मकवानपुरमा सुमो दुर्घटना : तीन जनाको मृत्यु, सात घाइते

मकवानपुरमा सुमो दुर्घटना : तीन जनाको मृत्यु, सात घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ मंसिर २०८३
  • 1.2K
    Shares

मकवानपुर, ३ मंसीर २०८३।

मकवानपुरमा आज बिहान भएको सुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो बिहीबार बिहान करिब ८ः५५ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिक त्रिभुवन राजपथमा सडकबाट करिब २०/२५ मिटर तल खोलामा खसेर दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको हो भने सात जना घाइते छन्।

उक्त दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा र २२ वर्षीया जेशिका तिमल्सिना रहेका छन् । त्यस्तै, चन्द्रनिगाहपुरबाट सुमोमा चढेकी नामथर र वतन नखुलेकी एक महिलाको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ छ ।

दुर्घटनामा रौतहटको चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय बय हाङ रानामगर घाइते भएका छन् ।

प्रहरीका अनुसार सुमोमा चालकसहित १० जना सवार थिए। दुर्घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले उद्धार गरी घाइते र मृतकलाई हेटौंडा अस्पताल पुर्‍याएको थियो।

साँघुरा घुम्ती र जोखिमपूर्ण भौगोलिक बनावटका कारण भीमफेदी सडकखण्डलाई दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ। यसअघि पनि सोही क्षेत्रमा भएको दुर्घटनामा १३ जनाले ज्यान गुमाएका थिए। त्यो दुर्घटनाको पीडा सेलाउन नपाउँदै फेरि सोही ठाउँमा अर्को दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको छ।

प्रहरीले दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र मृतक तथा घाइतेहरूको पहिचान खुलाउने काम भइरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार