काठमाडौं , ३ मंसीर २०८३।
जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) बाट दल त्याग गरेका १८ जना स्थानीय जनप्रतिनिधिको पद स्वतः रिक्त भएको छ।
निर्वाचन आयोगले २०८३ मंसिर ३ गते सूचना प्रकाशित गर्दै सो जानकारी दिएको हो। आयोगका अनुसार, २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका ती जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त र निर्णय विपरीत काम गर्दै दल त्याग गरेको भन्दै जसपा नेपालको केन्द्रीय समन्वय समितिले निर्णय गरेर आयोगलाई जानकारी गराएको थियो।
त्यसकै आधारमा आयोगले २०८३ मंसिर २ गते उनीहरू निर्वाचित भएका पद स्वतः रिक्त भएको निर्णय गरेको हो।
पद रिक्त हुनेमा मधेश प्रदेशका ५ जना र कोशी प्रदेशका १३ जना रहेका छन्।
मधेशबाट लहान नगरपालिकाका उपप्रमुख राम चरितर महतो, सिराहाका दुई वडा अध्यक्ष रमेश कुमार यादव र विजय कुमार महतो तथा पर्साको कालिकामाई गाउँपालिकाका दुई वडा अध्यक्ष लालबाबु राउत बरै र संजय कुमार पटेलको पद रिक्त भएको छ।
कोशीबाट खोटाङ जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरु राज राईसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वडा अध्यक्ष मुगा धन राई, महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गिता वि.क., वडा सदस्यहरू रामधन राई र शहर मनी राई तथा नगर कार्यपालिका सदस्य विरेन्द्र कुमार दर्नालको पद गुमेको छ।
त्यस्तै भोजपुरका वडा अध्यक्ष बाल चन्द्र राई, उदयपुरका वडा अध्यक्ष छत्र बहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्वाङ्ग, सन्दकपुरका वडा अध्यक्ष ढाल बहादुर गुरुङ्ग र सुनसरीको कोशी गाउँपालिकाका वडा अध्यक्ष जुडिलाल कौडगियाको पद पनि रिक्त भएको आयोगले जनाएको छ।
