काठमाडौं, २८ साउन २०८३।
गैरकानूनी रुपमा जग्गा धितो राखी ऋण प्रबाह गराएको आरोपमा एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भई काठमाडौंको महाराजगञ्ज बस्दै आएकी ४१ वर्षीया नविना गुरुङ रहेकी छन्। उनलाई प्रहरीले मंगलबार महाराजगञ्जबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार गुरुङले ‘टप ग्लोबल इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड’ नामक कम्पनीमार्फत नेपाल राष्ट्र बैंकको अनुमति बिना बैंक तथा वित्तीय संस्थाको जस्तै कारोबार गर्दै आएकी थिइन्। उनले व्यक्तिको लालपुर्जा धितोमा राखेर त्यसको मूल्याङ्कनका आधारमा ऋण प्रवाह गर्ने र आफूखुसी ब्याज निर्धारण गरी असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार ऋण लिन चाहने व्यक्तिलाई धितो मूल्याङ्कनको २० प्रतिशत रकम डिपोजिट गर्न लगाउने गरिएको थियो। कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेर राष्ट्र बैंकको अनुमति बिना बैंक तथा वित्तीय संस्थाले गर्ने प्रकृतिको कारोबार सञ्चालन गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
प्रहरीले महाराजगञ्जस्थित कम्पनीको कार्यालयबाट विभिन्न व्यक्तिका नाममा जारी गरिएका ७१ थान चेक तथा कम्प्युटरसमेत बरामद गरेको छ।
गुरुङविरुद्ध राष्ट्र बैंक ऐनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उनलाई अदालतबाट तीन दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।