काठमान्डौ, ८ कार्तिक २०८३ ।
उत्तर कोरियाली सर्बोच्च नेता किम जोङ ऊनले आकस्मिक रुपमा चीनको सीमावर्ती शहर डानडोङको आकस्मिक भ्रमण गरेका छन्।
सर्बोच्च नेता किम शनिबार एक दिने भ्रमणका लागि डानडोङ पुगेका र उनलाई चीनका चौथो वरियताका नेता वाङ हुनिङ र विदेशमन्त्री वाङ यीले स्वागत गरेका चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाकारी दिएको छ।
अर्को महिना चीनको सेन्जेनमा हुन लागेको एपेक सम्मेलनको केही हप्ताअघि भएको यो आकस्मिक भ्रमणलाई अर्थपूर्ण मानिएको छ। एपेकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङको भेट हुने तयारी छ। ट्रम्पले यसअघि किमलाई फेरि भेट्न चाहेको बताएका थिए।
एक वर्षभन्दा बढी समयपछि किमको यो पहिलो चीन भ्रमण हो। यो भ्रमण सन् १९५० मा कोरियाली युद्धमा चिनियाँ सेना प्रवेश गरेको वार्षिकोत्सवको पूर्वसन्ध्यामा भएको हो।
भ्रमणका क्रममा वाङ हुनिङले दुई देशबीच जनस्तरको आदानप्रदान, आर्थिक र व्यापारिक सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए। उनले शान्तिपूर्ण र स्थिर बाह्य वातावरण सिर्जना गर्दै सार्वभौमसत्ता, सुरक्षा र विकासका हितको रक्षा गर्न रणनीतिक सञ्चार र समन्वय सुदृढ पार्नुपर्ने बताए।
डानडोङमा किमले अमेरिकी आक्रामकता विरुद्ध प्रतिरोध र कोरियालाई सहयोग गर्ने युद्ध सम्बन्धी स्मृति भवनमा पुष्पहार अर्पण गरे र युद्धकालीन सामग्री अवलोकन गरे। त्यसपछि उनले वाङ हुनिङसँगै एक कार कारखानाको पनि भ्रमण गरे।
गत हप्ता मात्रै यालु नदीमा बनेको नयाँ पुल उद्घाटन गरिएको थियो। चिनियाँ प्रधानमन्त्री ली छ्याङले उद्घाटनमा प्योङयाङप्रति बेइजिङको समर्थन दोहोर्याएका थिए। किम सोही नयाँ पुल हुँदै उत्तर कोरिया फर्किएको सिन्ह्वाले जनाएको छ।