काठमान्डौ, ८ कार्तिक २०८३ ।
आज आश्विन शुक्ल पूर्णिमा, कोजाग्रत पूर्णिमा पर्व मनाइँदैछ। धनधान्यकी देवी महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर यो पर्व मनाउने शास्त्रीय परम्परा छ।
आजको दिनसँगै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरुको महान चाड बडादसैं औपचारिक रुपमा समापन हुँदैछ।
धार्मिक विश्वास अनुसार आज राति ‘को जागर्ति’ अर्थात् को जागा छ ? भनी महालक्ष्मीले पृथ्वी विचरण गर्ने भएकाले जाग्राम बसी महालक्ष्मीको पूजा गरेमा लक्ष्मी घरमा प्रवेश गरी धनधान्यले सम्पन्न बनाउँछिन् भन्ने मान्यता छ। यसैले यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ।
लक्ष्मीपूजाको ठीक १५ दिनअघि पर्ने भएकाले कोजाग्रत पूर्णिमाको विशेष महत्व छ। आज दुर्गाको एक रुप महालक्ष्मीको विशेष पूजाआराधना गरिन्छ।
यसैबीच विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज सकिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बेलुकी अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसादका रुपमा टीका र जमरा लगाउन शास्त्रसम्मत हुनेछ।
आज बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद र जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी जस्ता तीर्थस्थलमा लगेर सेलाउने/विसर्जन गर्ने परम्परा छ।
आजदेखि नै कात्तिक स्नान र आकाशदीप दान सुरु हुन्छ। आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महिना घरघरमा विशेष रुपमा गरिने तुलसी पूजा पनि आजैदेखि सुरु हुन्छ। शास्त्रीय मान्यता अनुसार कात्तिक स्नान गर्नेले आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका अन्नहरु – मास, मुगी, मुसुरो, चना, भटमास आदि खानु हुँदैन।
धेरैले आजको दिनलाई दसैं बिदाको समापन र तिहारको तयारीको सुरुवातका रुपमा पनि लिने गरेका छन्।