धनगढी, ३ भदौ २०८३ ।
कैलालीको लालिगुराँस सामुदायिक वनमा गएराती मृत भेटिएका युवाको गोली हानि हत्या भएको खुलेको छ।
बर्दगोरिया गाउँपालिका–३ स्थित लालिगुराँस सामुदायिक वनमा गएराती गोली लागेको अवस्थामा मृत भेटिएका ४३ वर्षीय पदमबहादुर विश्वकर्माको हत्या भएको खुलेको हो।
प्रहरीका अनुसार शिकार खेल्ने क्रममा कृष्णबहादुर बुढा क्षेत्रीले जंगली बँदेललाई लक्षित गरी गोली चलाउँदा गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि स्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनापछि विश्वकर्माको शव जंगलमै लगेर राखी भागेको आरोपमा प्रहरीले कृष्णबहादुर बुढा क्षेत्री र राकेश डगौरा थारुलाई पक्राउ गरेको छ। मृतकका भाइ गणेश विश्वकर्माले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा प्रयोग भएको भरुवा बन्दुक राकेशले बर्दगोरिया गाउँपालिका–३ स्थित जडैठाँडाको काँडा नदीको बगरमा माटोमुनि लुकाएको खुलेको छ। प्रहरीले उक्त स्थानबाट दुई थान भरुवा बन्दुकसमेत बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।