भेटिएनन्, पोखराको विजयपुर खोलामा बगेर बेपत्ता दुई बालक

भेटिएनन्, पोखराको विजयपुर खोलामा बगेर बेपत्ता दुई बालक


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० साउन २०८३
  • 1.3K
    Shares

पोखरा, ३० साउन २०८३।

खोला तर्ने क्रममा शनिबार विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुई बालक भेटिएनन्।

पोखरा महानगरपालिका–२६, सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकै खोला तर्ने क्रममा विजयपुरखोलाले बगाएर बेपत्ता बनाएका दुई बालक ब्यापक खोजीका बाबजुद नभेटिएका हुन्।

शनिबार दिउँसो करिब १ बजे १०/१२ जना साथीहरू मिलेर खोला पारि गएको समूह फर्किने क्रममा दुई बालक बेपत्ता भएका थिए । बेपत्ता हुनेमा पोखरा महानगरपालिका–१४ छिनेडाँडाका १६ वर्षीय निक्सन गुरुङ र सोही वडाको चाउथे निवासी १५ वर्षीय यमन राई रहेका छन्।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालका अनुसार, निक्सन स्याङ्जाको बिरुवा गाउँपालिका–७ स्थायी घर भई हाल पोखरा–१४ छिनेडाँडास्थित आर्मी पल्टनमा बस्दै आएका चन्द्रबहादुर गुरुङका छोरा हुन्। यमन भने खोटाङ स्थायी घर भई चाउथेमा बस्दै आएका थिए।

बेपत्ता दुवै बालकको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली गोताखोरसहित परिचालन गरिएको इलाका प्रहरी कार्यालय सिसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक गुणराज बुढाथोकीले जानकारी दिए।

अविरल वर्षापछि विजयपुर खोलामा पानीको बहाव बढेकाले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको प्रशासनले जनाएको छ। खोजीलाई सहज बनाउन खोलामा आउने नहरको पानी बन्द गरेर समेत बेपत्ता बालकहरूको खोजी अघि बढाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

प्रहरी तथा सुरक्षा निकायले सम्भावित स्थानहरूमा खोजी तीव्र बनाए पनि खोलामा पानीको बहाव उच्च रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

प्रतिक्रिया