बारामा तीन वर्षीया बालिकाको हत्या : प्रहरीसँगै खोजीमा हिँडेका युवक पक्राउ

बारामा तीन वर्षीया बालिकाको हत्या : प्रहरीसँगै खोजीमा हिँडेका युवक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ भाद्र २०८३
  • 2.2K
    Shares

बारा, ४ भदौ २०८३

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेस्थित सुकुमवासी बस्तीकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घटनास्थलमा बालिकाको खोजीका क्रममा प्रहरीसँगै हिँडेका युवकसमेत छन्।

बालिकाको शव भेटिएपछि ‘हत्यारा पत्ता लगाउनुपर्छ’ भन्दै प्रहरीसँगै घटनास्थल आसपासमा खोजीमा सक्रिय रहेका जीतपुरसिमरा–२ का सुमन थापा नै हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। प्रहरीले थापाले बालिकामाथि बलात्कारपछि हत्या गरेको स्वीकार गरेको जनाएको छ।

मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय बाराबाट तालिमप्राप्त कुकुरसहितको टोली अनुसन्धानका लागि घटनास्थल पुगेको थियो। त्यस क्रममा थापा पनि त्यहीँ उपस्थित थिए। तालिमप्राप्त कुकुरले संकेत गरेपछि उनलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

थापा वीरगञ्ज–पथलैया रुटमा चल्ने ना.१ ज ७७५८ नम्बरको म्याजिक भ्यानका सहचालक हुन्। प्रहरीले उक्त भ्यानका चालक प्रोग्रेस चौधरीलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको छ। यद्यपि, घटनामा आफ्नो मात्रै संलग्नता रहेको बयान थापाले दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चालक चौधरीको घर मृतक बालिकाको घरनजिकै छ। बालिका उक्त घरमा आउने–जाने गरेकी थिइन्। आइतबार बिहानदेखि गरिमा बेपत्ता भएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। त्यसपछि खोजी सुरु गरिए पनि तत्कालै उनको हत्या भएको हुनसक्ने आशंका गरिएको थिएन।

प्रारम्भिक अनुसन्धानमा आइतबार बिहान थापाले चालक चौधरीको घरबाट बालिकालाई घटनास्थलतर्फ लगेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीसमक्ष दिएको बयानमा थापाले बालिकामाथि बलात्कार गरेपछि उनी बेहोस भएको बताएका छन्। त्यसपछि आफू त्यहाँबाट फर्किएको र पुनः घटनास्थलमा पुगेर शव व्यवस्थापन गरेको उनको बयान रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार थापाले बालिका बेहोस भएपछि डोरीमा झुन्ड्याएर आफू फर्किएको तथा पछि पुनः घटनास्थलमा पुगेर शवलाई कपडामा पोको पारेको बयान दिएका छन्। त्यसपछि आफू नुहाएको र पुनः घटनास्थलमा गई शव व्यवस्थापन गरेको उनले बताएको प्रहरीले जनाएको छ।

गरिमा जीतपुरसिमरा–२ स्थित सरस्वती आधारभूत विद्यालयमा हालै प्ले ग्रुपमा भर्ना भएकी थिइन्। छोरीको हत्यापछि परिवार शोकमा डुबेको छ। उनकी आमा मानमती चौधरी मंगलबारदेखि नै अर्धचेत अवस्थामा रहेको आफन्तले बताएका छन्।

आइतबार बिहान करिब साढे ८ बजेदेखि बेपत्ता भएकी गरिमाको शव मंगलबार साँझ घरबाट करिब २०० मिटर टाढा रहेको एउटा खाली घरमा फेला परेको थियो। स्थानीयले उक्त घरबाट दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचनापछि तालिमप्राप्त कुकुरसहित घटनास्थल पुगेको प्रहरीले खोजी गर्दा बालिकाको शव कपडामा पोको पारेर फालिएको अवस्थामा फेला पारेको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया