चिठी लेखाउनेहरू मोबाइलको बटन दबाउन थाले

चिठी लेखाउनेहरू मोबाइलको बटन दबाउन थाले


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ मंसिर २०७३
  • 12.3K
    Shares

कुनै समयमा मानिसका सन्देश एक ठाउँबाट अर्को ठाउँमा रहेका मानिससम्म पुर्‍याउन भरपर्दो माध्यमका रूपमा रहेको हुलाक सेवा अहिले निकै कम प्रयोग हुने गरेको छ ।

आधुनिक प्रविधिमा मानिसको पहुँच बढेसँगै चिठीका माध्यमबाट सन्देश पठाउने हुलाकको प्रयोग कम हुँदै गएको हो । यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।

देशभरका कुनाकुनामा पुगेको हुलाक सेवाका माध्यमबाट देशविदेशसम्म रहेका आफ्ना आफन्तलाई हालखबर पु¥याउन हुलाक सेवा भरपर्दो माध्यमका रूपमा रहेको छ ।

हुलाक सेवा विभागका निर्देशक राजन पौडेलले आधुनिक प्रविधिले प्रभूत्व जमाउन थालेपछि पहिलेको जस्तो हुलाकबाट पत्र पठाउने चलन हराएको बताए।

अहिले हरेक मानिसका हातहातमा आधुनिक मोबाइल फोन छन् ।  देशविदेशसम्म कुरा गर्न सहज भएको छ ।  हरेक दिन फोनमा भिडियो च्याट गर्दै कुरा गर्ने सुविधा छ ।  जसका कारण गाउँघरको हालखबर पनि सजिलै थाहा पाउन सकिन्छ ।

पहिले श्रीमान् विदेश हुँदा चिठीका माध्यमबाट हालखबर पु¥याउने बर्दिया हाल पेप्सीखोला काठमाडौँ बस्ने शारदा खड्का पनि अचेल मोबाइल, भाइबरका माध्यमबाट कुरा गर्छिन्।

पहिले महिनौँसम्म कुरा नहुने उनी अहिले दिनमै तीन, चार पटकसम्म कुरा गर्छिन्।  ‘पहिले पो चिठी पुग्न निकै समय लाग्थ्यो ।  अनि महिनौँ खबर थाहा हुन्थ्यो ।  अहिले त इन्टरनेटमा सित्तैमा कुरा गर्न सकिन्छ ।  अनि किन चिठी लेख्ने ?’, उनले भनिन्।

गोरखाकी ७९ वर्षीया माकुरी न्यौपाने पनि अहिले मोबाइलबाटै विदेशमा रहेका छोरा, नातिसँग कुरा गर्छिन्।  उपचारका लागि काठमाडौँ आएकी उनले पहिलेपहिले गाउँमा पढेलेखेलाई चिठी लेख्न लगाउँथिन्।  उताबाट आएको चिठी पनि अरुले नै पढिदिन्थे ।

उनी भन्छिन्, ‘‘अहिले त मोबाइल दिएका छन् ।  फोन आयो भने हरियो बटन दबाएर उठाउनु भनेका छन् ।  त्यसै गर्छु र कुरा गर्छु ।  आफूले गर्न त जान्दिन।  डायरीमा नाम, नम्बर लेखिदिएका छन्, जान्नेलाई डायल गरी दिन भनेर कुरा गर्ने गरेकी छु ।  चिठी नलेखाएको त वषौँ भयो  नि। ’’ उनले पहिलेजस्तो खबर थाहा पाउन महिनौँ कुनुपर्ने बाध्यता टरेको बताउँछिन्।

अहिले देभभर इलाका र अतिरिक्त गरी ८५० हुलाक सेवा सञ्चालित छन् ।  यहाँका कर्मचारी पनि अहिले कामविहीन भएर बसेका छन्।

गाउँगाउँसम्म पनि अहिले मोबाइलको पहुँच पुगिसकेको अवस्थामा हुलाक सेवालाई आधुनिक प्रविधिसँग मिलाएर लैजानुपर्ने आवश्यकता विभागले पनि महसुस गरेको निर्देशक पौडेलले बताए।

प्रतिक्रिया