पोखरा, ९ भदौ २०८३।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव संघीय सरकारको सहमति नलिई भारत भ्रमणमा गएको विषय सार्वजनिक भएको छ।
मुख्यमन्त्री यादव भने आफ्नो भारत भ्रमण व्यक्तिगत तथा धार्मिक प्रकृतिको भएकाले संघीय सरकारको सहमति आवश्यक नपरेको बताएका छन्। उनले आफु कुनै सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गरेर भारत नगएको जिकिर गरे।
प्रदेश सरकारका गृहमन्त्री फकिरा महतोका अनुसार मुख्यमन्त्री यादव गत शुक्रबार भारतको झारखण्डस्थित देवघरमा रहेको प्रसिद्ध बाबा वैद्यनाथ धाम (बाबाधाम) दर्शनका लागि गएका थिए। उनीसँग प्रदेश सरकारका केही मन्त्री र स्वकीय सचिवसमेत रहेको महतोले जानकारी दिएका छन्।
भारत भ्रमणका क्रममा मुख्यमन्त्री यादव धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी भएको स्रोतले जनाएको छ। उनी आइतबार राति नै मधेश प्रदेश फर्किएका थिए।
प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीले विदेश भ्रमण गर्दा संघीय सरकारसँग समन्वय तथा स्वीकृति लिने अभ्यास रहँदै आएको छ। यसअघि मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत र सतीश सिंहको विदेश भ्रमणका लागि संघीय सरकारबाट स्वीकृति दिइएको निर्णयसमेत सार्वजनिक अभिलेखमा रहेको बताइएको छ।
तर, मुख्यमन्त्री यादवको पछिल्लो भारत भ्रमणका विषयमा संघीय सरकारबाट कुनै औपचारिक निर्णय नभएको बताइएको छ। यसले प्रदेशका पदाधिकारीको विदेश भ्रमणसम्बन्धी प्रक्रिया तथा संघ र प्रदेश सरकारबीचको समन्वयलाई लिएर प्रश्न उठाएको छ।
मुख्यमन्त्री यादवले भने आफू सरकारी कामका लागि नभई व्यक्तिगत धार्मिक भ्रमणमा गएकाले संघीय सरकारको सहमति नलिएको स्पष्ट पारेका छन्।
‘व्यक्तिगत धार्मिक भ्रमण भएकाले संघीय सरकारको सहमति लिएको होइन,’ यादवले भने।
उनका अनुसार उनी शुक्रबार भारत गएका थिए र आइतबार राति नै मधेस प्रदेश फर्किएका हुन्।