भारतीय विदेशमन्त्री जयशंकरसँगको भेटमा प्रम बालेन्द्र शाहको भयो के कुरा ?

भारतीय विदेशमन्त्री जयशंकरसँगको भेटमा प्रम बालेन्द्र शाहको भयो के कुरा ?


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ मंसिर २०८३
  • 2.8K
    Shares

नयाँदिल्ली, ७ मंसिर २०८३।

प्रधानमन्त्री बालेन्द्र शाहले भारतको दुईदिने राजकीय भ्रमणको पहिलो दिन भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन्। आइतबार साँझ नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न आयाम तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको छ।

भ्रमणको पहिलो औपचारिक भेटका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री शाहसँग नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए।

नेपालको परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा दुई देशबीचको सम्पर्क सञ्जाल, व्यापार, पारवहन, वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा, खेलकुद तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विचार आदानप्रदान भएको थियो। विशेषगरी क्रिकेट र फुटबललगायत खेलकुद क्षेत्रमा सहकार्य बढाउने विषयले पनि छलफलमा स्थान पाएको थियो।

भेटका क्रममा दुवै पक्षले नेपाल र भारतबीच विद्यमान सहकार्यलाई थप विस्तार तथा प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए। भारतीय विदेशमन्त्री जयशंकरले नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्व दिएको सन्देशसमेत दिएका छन्।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्याञ्जनकारलगायत सरकारी अधिकारी तथा व्यवसायी प्रतिनिधिहरू सहभागी छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाह आइतबार अपराह्न नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत भारतीय तथा नेपाली अधिकारीहरूले स्वागत गरेका थिए।

यसैबीच भ्रमणको पहिलो दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत बिजनेस राउन्ड टेबललाई सम्बोधन गरेका छन्। उनले भारतीय व्यवसायी, उद्यमी, उद्योगपति तथा लगानीकर्तासँग अन्तरक्रिया गर्दै नेपालमा लगानीका अवसर उपयोग गर्न आग्रह गरेका छन्। नेपालमा लगानी भित्र्याउने र दुई देशबीचको आर्थिक सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता तथा प्रतिनिधिमण्डलस्तरीय छलफल हुने कार्यक्रम छ। त्यसैगरी उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत रहेको छ।

सोमबार हुने उच्चस्तरीय वार्तामा व्यापार, लगानी, ऊर्जा, हवाई तथा स्थल सम्पर्क सञ्जाल, पूर्वाधार विकास र दुई देशबीचको आर्थिक सहकार्यका विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ। साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकाससम्बन्धी समझदारीपत्र आदानप्रदान गर्ने तयारीसमेत छ।

प्रधानमन्त्री शाहको यो भ्रमणले नेपाल–भारत सम्बन्धका विद्यमान विषयको समीक्षा गर्दै आगामी दिनमा सहकार्यका नयाँ क्षेत्र पहिचान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। समाचार एजेन्सीहरुको सहयोगमा तयार पारिएको समाचार

प्रतिक्रिया
सम्बन्धित समाचार