बालेनको भारत भ्रमण : सीमा विवाद र हवाई रुटमा सहमति अनिश्चित, यी १० विषयमा हुँदैछ सम्झौता

बालेनको भारत भ्रमण : सीमा विवाद र हवाई रुटमा सहमति अनिश्चित, यी १० विषयमा हुँदैछ सम्झौता


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ मंसिर २०८३
  • 1K
    Shares

पोखरा , ७ मंसिर २०८३।

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार हुने उच्चस्तरीय वार्तामा लामो समयदेखि चर्चामा रहेका सीमा विवाद र थप हवाई प्रवेश मार्गको विषयले औपचारिक एजेन्डामा स्थान नपाउने संकेत देखिएको छ ।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच करिब ३० मिनेटका लागि ‘वान टु वान’ वार्ताको समय छुट्याइएको छ । त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । तर, दुवै देशका अधिकारीहरूका अनुसार अहिलेसम्म तयार पारिएको औपचारिक कार्यसूचीमा सीमा विवाद र एयर रुटको विषय समावेश गरिएको छैन ।

वार्ताको तयारीका क्रममा हवाई रुटको विषयले प्रवेश पाए पनि भारतीय पक्षबाट ठोस सहमति आउन सकेको छैन । यद्यपि, अन्तिम समयसम्म पनि यस विषयमा सहमति जुटाउने प्रयास जारी रहेको सरकारी अधिकारीहरूले बताएका छन् ।

कुन–कुन विषयमा हुँदैछ सहमति ?

‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनःकल्पना’ भन्ने मूल नारासहित अघि बढाइएको भ्रमणमा दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी १० बुँदे संयुक्त दृष्टिकोण (जोइन्ट भिजन) मा सहमति हुने तयारी छ ।

प्रस्तावित १० बुँदामा व्यापार तथा आर्थिक साझेदारी, भौतिक र डिजिटल कनेक्टिभिटी, ऊर्जा, जलस्रोत तथा जलवायु उत्थानशीलता, सुशासन, प्रविधि, अन्तरिक्ष तथा नवप्रवर्तन, शिक्षा तथा सीप विकास, खेलकुद, संस्कृति तथा पर्यटन, स्वास्थ्य र कृषि क्षेत्र समेटिएका छन् ।

त्यसैगरी, नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले तीनवटा धार्मिक पर्यटन सर्किट विकास गर्ने विषय पनि सम्झौतामा समावेश गरिएको छ ।

जनकपुर–अयोध्या जोड्ने रामायण सर्किट, लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगर जोड्ने बौद्ध सर्किट र पशुपतिनाथ–वाराणसी जोड्ने शिव–शक्ति सर्किट विकास गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

सम्झौताको कार्यान्वयन अवस्थाको नियमित अनुगमन गर्न नेपालका परराष्ट्र सचिव र भारतका राजदूतको नेतृत्वमा उच्चस्तरीय संयन्त्र गठन गर्ने तयारीसमेत छ । उक्त संयन्त्रले प्रत्येक ६ महिनामा प्रगति विवरण पेस गर्नेछ ।

सीमा विवाद र एयर रुटमा किन भएन सहमति ?

नेपालले लामो समयदेखि भारतसँग सीमा विवाद समाधान तथा अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गर्दै आएको छ । तर, यसपटकको उच्चस्तरीय भ्रमणमा पनि यी दुवै विषयमा ठोस सहमति हुने सम्भावना कमजोर देखिएको छ ।

विशेषगरी भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन नेपालले भारतसँग प्रस्ताव राख्दै आएको छ ।

नेपालको प्रस्तावअनुसार महेन्द्रनगर, भैरहवा, जनकपुर र नेपालगन्जबाट अन्तर्राष्ट्रिय उडानका लागि सहज प्रवेश मार्ग उपलब्ध भएमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान थप सहज हुने अपेक्षा गरिएको छ ।

महेन्द्रनगरको मार्ग प्रयोग गर्दा विमानले भारतीय आकाशमा तुलनात्मक रूपमा बढी उचाइबाट प्रवेश गर्नुपर्ने अवस्था रहेको भन्दै नेपालले भैरहवाबाट कम उचाइमै प्रवेश गर्न मिल्ने मार्गका लागि विशेष जोड दिँदै आएको छ ।

भारतले पश्चिम बंगालको बागडोगरा क्षेत्रका लागि नेपाली हवाई क्षेत्रको सीमित प्रयोग हुने विषयमा भने सकारात्मक संकेत दिएको बताइएको छ । तर, अन्य प्रस्तावित रुटमा अन्तिम सहमति जुटिसकेको छैन ।

सन् १९५० को सन्धिबारे पनि छलफल

प्रधानमन्त्री शाह र मोदीबीचको वार्तामा दुई देशबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, जनस्तरको सम्बन्ध र साझा सभ्यताका विषयमा छलफल हुनेछ ।

त्यसैगरी, रसुवामा आएको बाढीपछि खोज तथा उद्धार कार्यमा भएको सहयोग आदानप्रदान र सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलाई आपसी समझदारीमा पुनर्विचार गर्ने विषय पनि छलफलको कार्यसूचीमा रहेको बताइएको छ ।

दुवै प्रधानमन्त्रीले युवा पुस्तालाई केन्द्रमा राखेर तयार पारिएको संयुक्त दृष्टिकोणपत्रलाई औपचारिकता दिने कार्यक्रमसमेत छ ।

मोदीले दिवाभोज आयोजना गर्ने

प्रधानमन्त्री शाहको दुई दिने भारत भ्रमणका क्रममा सोमबार भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ भने उनले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नेछन् । भारतीय विदेशमन्त्री जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा केही नयाँ परियोजनाको उद्घाटन तथा केही परियोजनाको शिलान्यास गरिनेछ । साथै, विभिन्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने तयारी छ ।

आइतबार नै नेपाल र भारतका व्यवसायीबीच आर्थिक तथा व्यावसायिक सहकार्यका विषयमा छलफल भएको थियो । उक्त कार्यक्रममा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित दुवै देशका व्यवसायी सहभागी थिए ।

उच्चस्तरीय भेटघाट, द्विपक्षीय वार्ता तथा विभिन्न समझदारीमा हस्ताक्षरपछि प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यस भ्रमणबाट आर्थिक, ऊर्जा, पर्यटन, प्रविधि र कनेक्टिभिटीका क्षेत्रमा सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको भए पनि सीमा विवाद र हवाई प्रवेश मार्गजस्ता नेपालको दीर्घकालीन राष्ट्रिय चासोका विषयमा ठोस उपलब्धि नहुने संकेतले भ्रमणको उपलब्धिबारे थप प्रश्न उठाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार