पोखरा, ९ भदौ २०८३।
क्यानाडाको अन्टारियोमा यस गर्मीयाममा भएका छुट्टाछुट्टै जल दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। पौडी तथा जलयात्राका क्रममा भएका दुर्घटनामा गुल्मीका २६ वर्षीय सरोज शर्मा र लियन गुरुङले ज्यान गुमाएका हुन्।
पछिल्लो घटनामा सडबरीमा अध्ययनरत सरोज शर्माको क्राउली लेकमा डुबेर मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले जनाएको छ। गुल्मी स्थायी घर भएका शर्मा अध्ययनका क्रममा सडबरीमा बस्दै आएका थिए।
गत अगस्ट १३ मा शर्मा साथीहरूसँग क्राउली लेक पुगेका थिए। दिउँसो करिब ३ः२० बजे अचानक वर्षासँगै तीव्र हावाहुरी चलेपछि उनीहरू सवार क्यानु अनियन्त्रित भएर तालमा पल्टिएको स्थानीय सञ्चारमाध्यम सडबरी डटकमले जनाएको छ।
दुर्घटनाका क्रममा तालमा रहेका सडबरीका स्थानीय बासिन्दा जेम्स ब्यारियर र उनकी प्रेमिका केली वेडले मानिसहरू चिच्याएको सुनेपछि उद्धारका लागि घटनास्थल पुगेका थिए। ब्यारियरले लाइफ ज्याकेट लगाएका तर पानीमा डुब्न लागेका दुई जनालाई कायकको सहयोगमा उद्धार गरी किनारमा ल्याएका थिए।
त्यसपछि ब्यारियर शर्मा हराएको स्थानमा पुनः फर्किएर खोजी गरे पनि उनलाई फेला पार्न सकेनन्। घटनाबारे ग्रेटर सडबरी प्रहरीले अनुसन्धान गरिरहेको छ। दुर्घटनाका बेला शर्माले लाइफ ज्याकेट लगाएका थिए वा थिएनन् भन्नेबारे भने प्रहरीले अहिलेसम्म आधिकारिक पुष्टि गरेको छैन।
शर्माको शव नेपाल ल्याउन एनआरएनए क्यानाडाको पहलमा गोफन्डमीमार्फत १४ हजार ५ सय क्यानेडियन डलर संकलन गर्ने अभियान सञ्चालन गरिएको थियो। लक्षित रकम संकलन भएपछि उक्त अभियान बन्द गरिएको छ। यस्तै, शर्माको परिवारको ऋण तथा आर्थिक दायित्वमा सहयोग पुर्याउने उद्देश्यले सुदीप श्रेष्ठ नेवारले २० हजार क्यानेडियन डलर लक्ष्य राखेर अर्को अभियान सञ्चालन गरिरहेका छन्।
यसअघि गत मे महिनाको मध्यतिर लेक ह्युरोनमा भएको राफ्ट दुर्घटनामा अर्का नेपाली विद्यार्थी लियन गुरुङको मृत्यु भएको थियो। पाइनरी प्रोभिन्सियल पार्कनजिकै साथीहरूसँग राफ्टमा गएका गुरुङ दुर्घटनापछि बेपत्ता भएका थिए।
दुर्घटनामा उनका तीन जना साथी सकुशल किनारमा पुगेका थिए भने गुरुङको खोजी करिब दुई सातासम्म जारी राखिएको थियो। अन्ततः मे २९ मा पोर्ट फ्र्याङ्क्सनजिकैको किनारमा उनको शव फेला परेको थियो।
अन्टारियोमा छोटो अवधिमै दुई नेपाली विद्यार्थीले जल दुर्घटनामा ज्यान गुमाएपछि जलयात्रा तथा पौडीका क्रममा आवश्यक सुरक्षा सतर्कता अपनाउनुपर्ने विषय पुनः चर्चामा आएको छ।