फोनमा चर्को स्वरमा कुरा गरेको भन्दै बागलुङमा आफ्नै साथीको हत्या : दुई जना पक्राउ

फोनमा चर्को स्वरमा कुरा गरेको भन्दै बागलुङमा आफ्नै साथीको हत्या : दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ भाद्र २०८३
  • 1.2K
    Shares

बागलुङमा आफ्नै साथीको हत्या गरेको आरोपमा पक्राउ परेका दुई जना , baglung murder 1

बागलुङ , ५ भदौ २०८३।

फोनमा चर्को स्वरमा कुरा गरेको भन्दै आफ्नै साथीको हत्या गरेको आरोपमा बागलुङबाट दुई जना पक्राउ परेका छन्।

ढोरपाटन नगरपालिका–७ स्थायी घर भई हाल ढोरपाटन–५ बस्ने ३६ वर्षीय अशोक खत्रीको हत्या गरेको आरोपमा प्रहरीले उनका दुई जना साथीलाई पक्राउ गरेको।

फोनमा चर्को कुरा गरेको भन्दै गएको साउन २६ गते राति करिब ९ः४० बजे काठेखोला गाउँपालिका–३, धम्जा माझँकटेरास्थित श्री निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा अशोक खत्रीको हत्या गरेको आरोपमा प्रहरीले उनका साथीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ।

पक्राउ पर्नेहरुमा ढोरपाटन नगरपालिका–६ का २५ वर्षीय अर्जुन घर्ती मगर र ढोरपाटन नगरपालिका–५ का ३६ वर्षीय रिखे दमाई रहेको प्राप्त समाचारमा जनाइएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा खत्रीलाई उनीसँगै लेबर काम गर्ने अर्जुन घर्ती मगरले धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।

सामान्य विवादपछि हत्या

प्रहरीको अनुसन्धानअनुसार अशोक खत्री, अर्जुन घर्ती मगर र रिखे दमाई यसअघि काठेखोला गाउँपालिका–३, धम्जा माझँकटेराका देबेन्द्र खत्रीको ओखरका बिरुवा रोप्ने कामका लागि गएका थिए।

२०८३ साउन २० गते तीनै जना कामका लागि घरबाट हिँडेका थिए। बाटोमा अशोक खत्रीको घरमा काम परेपछि उनी बीचबाटै घर फर्किएका थिए भने अर्जुन र रिखे काम गर्ने स्थानमा पुगेका थिए।

साउन २४ गते अशोक पनि काम गर्नका लागि उनीहरू बसेको स्थानमा पुगेपछि तीनै जना सँगै बस्दै आएका थिए।

साउन २५ गते राति तीनै जनाबीच फोनमा ठूलो स्वरमा कुरा गरेको विषयलाई लिएर सामान्य विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसको भोलिपल्ट अर्थात् साउन २६ गते दिनभरको काम सकेपछि उनीहरू सँगै बसेर मादक पदार्थ सेवन गरिरहेका थिए।

सोही क्रममा अघिल्लो दिनको विवादलाई लिएर पुनः झगडा भएको र विवादकै क्रममा अर्जुन घर्ती मगरले अशोक खत्रीमाथि चक्कु प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। चक्कु प्रहारबाट गम्भीर घाइते भएका खत्रीको मृत्यु भएको हो।

चक्कु र रगत लागेको कपडा बरामद

प्रहरीले घटनामा प्रयोग भएको चक्कु तथा रगत लागेको कपडालगायतका महत्वपूर्ण दशी प्रमाण बरामद गरेको जनाएको छ।

मृतककी श्रीमती दिलमाया भण्डारीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरीसमेत दिएकी छन्। मृतक खत्रीका १२, ९ र ७ वर्षका तीन छोरा छन् भने उनकी श्रीमती गर्भवती रहेको बताइएको छ। परिवारको मुख्य आर्थिक आधार अशोक खत्री नै रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका अर्जुन घर्ती मगर र रिखे दमाईलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रिखे दमाईको घटनामा संलग्नता तथा भूमिकाबारे समेत प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया