पोखरा, ९ भदौ २०८३।
पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट हराएका ११ वर्षीय बालक पोखरा २५ हेम्जाको घट्टेखोलामा भेट्टिएका छन्।
आइताबार एकाबिहानै कसैलाई केही नभनी घरबाट निस्किएका ती बालकलाई प्रहरीले पोखरा–२५ स्थित घट्टेखोला सडकमा हिडिरहेको अवस्थामा भेट्टाएको हो।
प्रहरीका अनुसार बालक भदौ ८ गते बिहान करिब ५ बजे घरमा कसैलाई जानकारी नदिई हिँडेका थिए। त्यसपछि उनी घर नफर्किएपछि परिवारले खोजी गरिरहेको थियो।
खोजी गर्ने क्रममा प्रहरीले बालकलाई पोखरा–२५, घट्टेखोला सडकमा एक्लै हिँडिरहेको अवस्थामा फेला पारेको हो। पहिचान खुलेपछि प्रहरीले आफन्तसँग सम्पर्क गरी बालकलाई सुरक्षित रूपमा उनीहरूको जिम्मा लगाएको जनाएको छ।
प्रहरीले बालबालिका घरबाट बाहिर निस्कँदा अभिभावकले विशेष निगरानी राख्न तथा सम्पर्कविहीन भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।