पूर्वराजा ज्ञानेन्द्रसँग ‘जय नेपाल पार्टी’का संयोजक धवलशम्शेर राणाले गरे भेटवार्ता

पूर्वराजा ज्ञानेन्द्रसँग ‘जय नेपाल पार्टी’का संयोजक धवलशम्शेर राणाले गरे भेटवार्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ भाद्र २०८३
  • 1.5K
    Shares

काठमाडौं , ७ भदौ २०८३ ।

राप्रपाबाट अलग भएर नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ गठन गरेका धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। शनिबार साँझ काठमाडौंस्थित सोल्टी होटलमा आयोजित हिमानी ट्रस्टको कार्यक्रममा सहभागी भएपछि राणा र पूर्वराजा शाहबीच भेटवार्ता भएको हो।

भेटपछि राणाले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै पूर्वराजासँगको भेटलाई ‘फलदायी’ र सकारात्मक भएको बताएका छन्। उनका अनुसार भेटमा मुलुकको वर्तमान राजनीतिक तथा सामाजिक अवस्था, समसामयिक विषय र जय नेपाल पार्टीको आगामी राजनीतिक यात्राबारे लामो कुराकानी भएको थियो।

पार्टीको एजेन्डाबारे पूर्वराजालाई जानकारी

राणाका अनुसार उनले पूर्वराजा शाहलाई आफू नेतृत्वको जय नेपाल पार्टीले अघि सारेको राजनीतिक एजेन्डाबारे पनि जानकारी गराएका थिए। विशेषगरी राजसंस्था पुनःस्थापना र हिन्दू अधिराज्यका पक्षमा जनमत निर्माण गर्ने पार्टीको निर्णयबारे उनले जानकारी गराएको बताएका छन्।

भेटका क्रममा पूर्वराजा शाहले देशको वर्तमान अवस्थाप्रति चासो राख्दै सबैलाई समेटेर अघि बढ्न शुभकामना दिएको राणाको भनाइ छ। हिमाल प्रेसका अनुसार शाहले राष्ट्रवादी शक्तिहरूलाई एकजुट बनाएर अघि बढ्न आग्रह गरेका थिए।

राणाले अनलाइनखबरसँगको कुराकानीमा पूर्वराजाले आफूलाई व्यक्तिगत रूपमा कुनै राजनीतिक निर्देशन नदिएको, बरु सबै जातजाति, समुदाय र संस्कृतिलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखेको बताएका छन्।

दुर्गा प्रसाईंको विषयमा पूर्वराजाले गरेनन् टिप्पणी

राप्रपा छाडेपछि राणाले दुर्गा प्रसाईंसँग मिलेर नयाँ राजनीतिक शक्ति निर्माण गर्ने प्रयास गरेका थिए। तर, शक्ति बाँडफाँटलगायतका विषयमा सहमति हुन नसकेपछि राणा अलग भएर जय नेपाल पार्टी गठन गर्ने बाटोमा अघि बढेका हुन्। पछि राणाले निर्वाचन आयोगमा ७९ सदस्यीय केन्द्रीय समिति समेटेर पार्टी दर्ताका लागि निवेदन दिएका थिए। पार्टीको चुनाव चिह्न त्रिभुज प्रस्ताव गरिएको छ।

पूर्वराजासँगको भेटमा आफू र प्रसाईंबीच कुरा नमिलेको जानकारी गराउँदा ज्ञानेन्द्र शाहले हाँसेको तर यस विषयमा कुनै टिप्पणी नगरेको राणाले बताएका छन्। राप्रपाका विषयमा पनि पूर्वराजाले कुनै टिप्पणी नगरेको उनको भनाइ छ।

७७ जिल्लामा संगठन विस्तार गर्ने तयारी

जय नेपाल पार्टीले अब संगठन विस्तारलाई प्राथमिकता दिने भएको छ। राणाका अनुसार भदौ र असोजभित्र ७७ जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने तयारी छ। त्यसैगरी युवा, महिला र जेनजीसहितका जनवर्गीय संगठन तथा विभिन्न विभाग र समितिहरू गठन गर्ने निर्णय पार्टीले गरिसकेको छ।

राणाले आगामी स्थानीय तहको निर्वाचनमा समेत पार्टी सहभागी हुने बताएका छन्। स्थानीय तहमा स्वच्छ छवि भएका, इमानदार र आफ्नो क्षेत्रमा काम गर्ने क्षमता तथा इच्छाशक्ति भएका व्यक्तिलाई उम्मेदवार बनाउने पार्टीको तयारी रहेको उनले बताएका छन्।

राजसंस्था र हिन्दू राष्ट्र मुख्य राजनीतिक एजेन्डा

जय नेपाल पार्टीले सुरुदेखि नै संवैधानिक राजसंस्था, हिन्दू राष्ट्र र लोकतान्त्रिक व्यवस्थालाई आफ्नो प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि सारेको छ। पार्टीले सक्रिय राजतन्त्र नभई संवैधानिक भूमिकामा रहने राजसंस्थाको पक्षमा आफूहरू रहेको स्पष्ट पारेको छ।

पूर्वराजा शाहसँग राणाको पछिल्लो भेटलाई भने यही राजनीतिक पृष्ठभूमिमा अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भेटमा कुनै राजनीतिक सहमति भएको वा पूर्वराजा शाहले जय नेपाल पार्टीलाई औपचारिक समर्थन गरेको पुष्टि भने भएको छैन।

प्रतिक्रिया