पोखरा, ६ भदौ २०८३।
पोखरा महानगरपालिका–१८ लामागाउँमा आज दिउसो मोटरसाइकल विद्युत् पोल र बसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।
सराङकोटबाट पोखरातर्फ आउंदै गरेको ग२०प ६०९४ नम्बरको पल्सर मोटरसाइकल लामागाउँमा अनियन्त्रित भई बाटो छेउमा लगाइएको बारको पोलमा ठोक्किए पछि सराङकोटतर्फ जाँदै गरेको ग१ख ४३३५ नम्बरको बसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा एक महिलाको मृत्यु भएको हो भने मोटरसाइकल चालक घाइते भएका छन्।
उक्त दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलको पछाडी सवार महिला पोखरा १८ कि २९ वर्षीया रुपा बिकको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रबक्ता खेमराज पनेरुले जानकारी दिए। सोहि दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पोखरा महानगरपालिका–१८ सुन्दरपोखरीका ४३ वर्षीय रामचन्द्र बि.क.को टाउको र दायाँ कानमा चोट लागेको र अवस्था गम्भीर रहेको छ। उनको सोही अस्पतालमा उपचार भैरहेको प्राप्त जानकारीमा उल्लेख छ।
दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न बस र मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।