पोखरामा पत्रकारले खिचेको प्रधानमन्त्रीको भिडियो क्यामेराबाट सेनाले मेटाउन लगायो

पोखरामा पत्रकारले खिचेको प्रधानमन्त्रीको भिडियो क्यामेराबाट सेनाले मेटाउन लगायो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ भाद्र २०८३
  • 893
    Shares

balen शाह with wife in majheri manjil resort

पोखरा, ८ भदौ २०८३ ।

मुक्तिनाथ दर्शन गरेर प्रधानमन्त्री बालेन्द्र शाह आज काठमाण्डौ फर्कदैछन। राजधानी फर्कने क्रममा उनको आइतबारको पोखरा बसाइ विवादित बनेको छ।

बागलुङस्थित नेपाली सेनाको कार्यालयमा पुगेर पोखरा आएका प्रम शाह पोखरा महानगरपालिका–१४ स्थित मझेरी मन्जिल रिसोर्टमा बसेका थिए। विजयपुर खोलानजिकै रहेको रिसोर्टको पारिपट्टिबाट आफूले प्रधानमन्त्रीको भिडियो खिचिरहेको देखेपछि नेपाली सेनाको टोली गाडी लिएर आएको र भिडियो हटाउन लगाएको पत्रकार सुरेश सुनारले जानकारी दिए । पत्रकार सुनारले आफ्नो क्यामेरामा कैद भएको भिडियो हेर्दै एक–एक गरी डिलिट गर्न लगाइएको बताए।

पत्रकार सुनारका अनुसार रिसोर्टको गेटबाट भिडियो खिच्न रोक लगाएपछि आफूले पारिपट्टिबाट भिडियो खिचेका थिए। त्यस क्रममा सेनाले प्रधानमन्त्रीको ‘निजी भ्रमण’ भन्दै क्यामेरामा रहेको भिडियो हटाउन लगाएको उनको भनाइ छ।

‘रिसोर्ट परिसरमा बाहिर बसिरहेको भिडियो खिचेको थिएँ। मेरो क्यामेरामा खिचिएको भिडियो हेर्दै एक–एक गर्दै डिलिट गर्न लगाइयो,’ सुनारले भने। उनले सार्वजनिक व्यक्तिको गतिविधिबारे समाचार संकलन गर्ने क्रममा सेनाले भिडियो हटाउन लगाउनु उचित नभएको बताए।

मुस्ताङ यात्रामा पनि कडा सुरक्षा

प्रधानमन्त्री शाह शुक्रबार परिवार तथा सचिवालयको टोलीसहित नेपाली सेनाको सुरक्षामा पोखरा आएका थिए। मुस्ताङ जाने क्रममा उनले पोखरानजिकै माछापुच्छ्रे गाउँपालिका–स्थित अस्तामको अन्नपूर्ण इको भिलेज लजमा एक रात बिताएका थिए। उनीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ पनि थिए।

प्रधानमन्त्री पुग्नुअघि नै नेपाली सेनाको टोली इको भिलेजमा पुगेर सुरक्षा व्यवस्था मिलाएको थियो। सेनाले लजका कर्मचारी तथा सञ्चालकलाई परिचयपत्रका आधारमा प्रवेश दिएको थियो भने अन्य व्यक्तिको आवागमनमा रोक लगाएको थियो। सञ्चारकर्मीलाई समेत लजबाट करिब आधा किलोमिटर वरै रोकिएको बताइएको छ।

‘प्रेस स्वतन्त्रतामाथिको प्रहार’

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले सार्वजनिक पदमा रहेका व्यक्तिको गतिविधिबारे सूचना संकलन गर्ने क्रममा पत्रकारले खिचेको भिडियो हटाउनु प्रेस स्वतन्त्रताविरोधी कार्य भएको बताएका छन्।

उनले प्रधानमन्त्री सार्वजनिक व्यक्ति भएको र रिसोर्टमा उनको आगमनबारे रिपोर्टिङ गर्ने क्रममा भिडियो खिच्नु पत्रकारको काम भएको बताए। सेनाले भिडियो हटाउन लगाएको घटना लोकतन्त्र र स्वतन्त्र प्रेसमाथिको प्रहार भएको उनको भनाइ छ।

प्रशासन भन्छ– रोकटोक गरिएको छैन

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रवक्तासमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले पत्रकारले खिचेको भिडियो सेनाले हटाएको विषयमा आफूलाई पूर्ण जानकारी नभएको बताए।

उनका अनुसार सार्वजनिक स्थलमा सार्वजनिक व्यक्तित्वको भिडियो खिच्न कास्की प्रशासनले पत्रकारलाई कुनै रोकटोक गरेको छैन।

सडकमार्ग हुँदै शुक्रबार पोखरा आएका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ पुगेका थिए। आइतबार मुस्ताङबाट बागलुङ र पर्वत हुँदै उनी पोखरा फर्किएका हुन्।

प्रतिक्रिया