पोखरा, ९ भदौ २०८३ ।
पोखरा उद्योग वाणिज्य संघको ३४औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।
भदौ २० र २१ गते हुने निर्वाचनका लागि अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतमले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। गौतम र आचार्यले आफ्नो प्यानलसहित चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने भएका छन्।
अध्यक्षका उम्मेदवार बुद्धाचार्य संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन्। आचार्य वाणिज्यतर्फका उपाध्यक्ष तथा गौतम महासचिवको जिम्मेवारीमा छन्। पोखरेल यसअघि अध्यक्ष पदमा दुई पटक प्रतिस्पर्धा गरे पनि पराजित भएका थिए।
वरिष्ठ उपाध्यक्ष पदमा गौतम समूहबाट टीकाराम सुवेदी र आचार्य समूहबाट दिनेशचन्द्र बास्तोलाले उम्मेदवारी दिएका छन्।
त्यस्तै, उद्योगतर्फको उपाध्यक्षमा गौतम समूहबाट सौगात थापा र आचार्य समूहबाट ललितबहादुर कुँवर चुनावी प्रतिस्पर्धामा छन्। वाणिज्यतर्फको उपाध्यक्षमा गौतम समूहबाट भीम गौतम र आचार्य समूहबाट मनोजकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन्।
महासचिव पदमा गौतम समूहबाट तारानाथ ढुंगाना र आचार्य समूहबाट सुदीप प्रधानाङ्गले उम्मेदवारी दिएका छन्। कोषाध्यक्षमा गौतम समूहका जीवनप्रकाश श्रेष्ठ र आचार्य समूहका देवेन्द्र प्रजु प्रतिस्पर्धामा छन्।
यसैगरी, उपमहासचिव पदमा गौतम समूहबाट यादवप्रसाद पोखरेल र आचार्य समूहबाट प्रदीप राजभण्डारीले उम्मेदवारी दिएका छन्। रामचन्द्र तिमिल्सिनाले भने उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
१० जना सदस्यका लागि १३ जनाको उम्मेदवारी परेको छ। १४ जनाले मनोनयनपत्र लगे पनि एकनारायण गौतमको उम्मेदवारीमा प्राविधिक त्रुटि देखिएपछि १३ जनाले मात्रै मनोनयन दर्ता गरेका हुन्।
सदस्य पदका लागि अमृत पोखरेल, कमलबहादुर सुनार, गोविन्दबहादुर केसी, दिलीपकुमार श्रेष्ठ, दुर्गा बराल, नवीन नापित, निर्मला चापागाईं, भानुभक्त अधिकारी, मनोहरि पौडेल, रामप्रसाद कँडेल, रामेश्वर अधिकारी, सूर्यराज घिमिरे र हरिप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन्।
यस्तै, वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल प्रतिस्पर्धामा छन्। वस्तुगततर्फ चार जना निर्वाचित हुनेछन्। औद्योगिक सदस्यका लागि पिताम्बर अधिकारीको एकल उम्मेदवारी परेको छ।
निर्वाचन समितिका संयोजकका अनुसार मंगलबार दिउँसो १ बजेसम्म दाबी–विरोधको समय तोकिएको छ। उम्मेदवारी फिर्ताका लागि भदौ ११ गते दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको छ। सो समय सकिएपछि अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरिने जनाइएको छ।