सोलुखुम्बुको जलविद्युत् आयोजनाबाट आठसय लिटर डिजेल चोरी : चालकसहित पाँच जना पक्राउ

सोलुखुम्बुको जलविद्युत् आयोजनाबाट आठसय लिटर डिजेल चोरी : चालकसहित पाँच जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ भाद्र २०८३
  • 855
    Shares

पोखरा, ९ भदौ २०८३।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ बोदेलस्थित हुँगा खोला जलविद्युत् आयोजनाबाट करिब ८ सय लिटर डिजेल चोरी गरी बिक्री गरेको आरोपमा चार जना चालकसहित पाँच जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार चोरी भएको डिजेल सस्तो मूल्यमा बिक्री गर्ने चार जना चालक र चोरीको डिजेल खरिद गर्ने एक जनालाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निर्मल थापाका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले भदौ ७ गते बिहान करिब ४ बजे उनीहरूलाई चोरीको डिजेलसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का २४ वर्षीय केशव कार्की र २४ वर्षीय लिलाबहादुर चौहान, सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–१ का २५ वर्षीय यामबहादुर बस्नेत तथा वडा नम्बर ६ मुक्लीका २४ वर्षीय आकाश राई रहेका छन्।

त्यस्तै, चोरी गरिएको डिजेल खरिद गरेको आरोपमा सिन्धुलीको कमलामाई नगरपालिका–८ का ४२ वर्षीय श्यामबहादुर जोगालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट करिब ६७५ किलोग्राम अर्थात् अन्दाजी ८ सय लिटर डिजेल बरामद गरेको छ।

पक्राउ परेका पाँचै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। उनीहरूलाई भदौ ८ गते सोलुखुम्बु जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि पहिलो पटक पाँच दिनको म्याद थप गरिएको छ।

घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको तथा चोरीको डिजेल बिक्री वितरणसम्बन्धी थप विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया