भारतले चाहेको मधेस: श्रीलाल साह

भारतले चाहेको मधेस: श्रीलाल साह


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ फाल्गुन २०७२
  • 15.8K
    Shares

मधेस आन्दोलन र अघोषित नाकाबन्दीको औचित्य रातारात कसरी तुहियो ? चर्चाको विषय बन्न सक्छ । मधेस आन्दोलनमा ५५ जना मधेसीको ज्यान गयो । सयौं घाइते भए । कराडौंको सम्पत्ति क्षति भयो । आमनेपालीले दुःख पाए । देश अधोगतिमा धकेलियो । लोकतान्त्रिक संविधान जारीपछि अग्रगामी फड्को मार्न प्रयत्नरत मुलुक दशकौं पछाडि पर्यो । त्यसो भए मधेस आन्दोलन र नाकाबन्दीको मूल्य के–केसँग साटिए त ? त्यो खोतल्नै बाँकी छ । यसबीचमा दुई मधेस देखियो । एउटा भारतले चाहेको मधेस । जहाँ भारतले चाहे नाकाबन्दी र आन्दोलन हुन्छ । अर्को मधेस ऊर्जा, विकास र अधिकारका लागि आन्दोलित छ ।

एक मधेसी भारतकै लागि लड्ने, भिड्ने, उसकै लागि मोर्चा बनाउने, आन्दोलन र नाकाबन्दी गर्ने र भारतीय स्वार्थ पूरा हुनेबित्तिकै आन्दोलनबाट पछाडि हट्ने राजेन्द्र महतो प्रवृत्ति । अर्को कहिले मधेसी, कहिले भारतीय, कहिले विखण्डनकारी आदि आरोप खेपेर पनि मधेस र मधेसीको अस्तित्व जोगाउन लागिपरेका छन् । अहिले भारतले चाहेको मधेस र उसका प्रतिनिधि पात्र सफल भएका छन् । वास्तविक मधेस र मधेसीको आन्दोलन बरालिएको छ । तर, सत्तासिन दंग छन् । मधेस आन्दोलन सकियो । नाकाबन्दी खुल्यो । मधेस हार्यो । मधेसले केही गर्न सकेन आदि–आदि ।

मुलुकले हारेको कसले देख्ने ? मधेस आन्दोलनका एउटा घटक सत्तासाझेदारीमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदै छन् । त्यसपछि गोप्य मन्त्रणाको अर्थ साक्षात्कार होला । अहिले भने नेपाल–भारत सम्बन्धबीच के पाकिरहेको छ ? हिजोआज एक्लो वृहस्पति राजेन्द्र महतोले सबैलाई लोप्पा खुवाइदिएपछि भारत स्वनामधन्य भए । तर, नाकाबन्दी कसले गर्यो ? अनि कसरी खुल्यो ? राज्यसत्ताले अथ्र्याउन चाहेन ।

मधेसवादी दल आन्दोलनमै छन् । भनेपछि जसरी खुल्यो, त्यसरी नै फेरि नाकाबन्दी हुन सक्छ । फरक यतिमात्र हो, जारी मधेस आन्दोलबाट महतो बाहिरिए । आगामी दिनमा अरू थपिँदै जान सक्छन् । त्यसबेला मुलुकको हालत के हुन्छ ? अनुत्तरित प्रश्नको जवाफ कसले दिने ? भारतले जहिले पनि नेपाल गरिब, विपन्न र समस्याग्रस्त रहेको देख्न चाहन्छ ।

मधेस आन्दोलनका नाममा अघोषित नाकाबन्दी गरेर गोप्य मन्त्रणा गरेझैं मधेसको नाममा भारतले नेपालको राज्यसत्ता आफ्नो वशमा राख्न चाहेको छ । यसअघि दरबार र विभिन्न राजनीतिक दल तथा लोकतान्त्रिक शक्तिबीचको वैमनस्यता भारतका लागि आफूअनुकूल रहेको थियो । तर, राजतन्त्र अन्त्य र लोकतान्त्रिक पद्धति बहालीपछि भारतलाई अप्ठ्यारो परेको छ । उसले मधेसलाई कडीमात्र बनाएको हो । भारत नेपाल संघीयतामा जाओस् भन्ने चाहँदैन ।

सिंगो मुलुकलाई ‘डिल’ गर्न भारतलाई जति सजिलो छ, संघीय प्रदेशलाई रिझाउन त्यति नै गाह्रो छ । त्यसैले भारत संघीयतासहितको संविधान जारी नहोस् भन्नेमा पक्षमा थियो । जे नहोस् भनेको त्यही भएपछि भारत मधेसको घाउ बल्झाउँदै नेपालमाथि प्रतिशोध साँध्न उद्यत रह्यो । दिल्लीमा १२ बुँदे सहमति हुँदा संघीयता र संविधानसभाको मुद्दा भारतका लागि बाध्यात्मक उपजमात्रै थियो । त्यसो त उसका लागि मधेसले केही अर्थ राख्दैन ।

किनभने सानो भू–भाग मधेस र हेपिएका मधेसीभन्दा सिंगो मुलुक नेपाललाई नै भारतले काबुमा राख्न खोज्छ । उसले नेपालबाट आफ्नो स्वार्थसिद्ध गरिरहेको हुन्छ । जसरी नेपालका लागि भनेर चीनले भारतसँगको सम्बन्ध बिगार्दैन, त्यसरी नै मधेसका लागि भनेर भारतले नेपालसँगको सम्बन्ध बिगार्न चाहँदैन । त्यसैले भारतको आडमा न त कहिल्यै मधेस आन्दोलन सफल हुन सक्छ न त मधेस कहिल्यै सबल र सुदृढ बन्न सक्छ । अर्काको भरमा आन्दोलन गरेर हुँदैन । अर्काको भात खाएर एजेन्डा बनाउन हुँदैन । मधेसले आफ्नै आँगनमा बन्द गर्न सक्नुपर्छ । मधेसीले आफ्नै बाहुबलमा आन्दोलन गर्न सक्नुपर्छ । निमुखा मधेसीको आवाज मुखतरित गर्नुपर्छ ।

अनि मात्र मधेस आन्दोलन सफल हुन्छ । जहाँसम्म नेपाली समुदाय वा सत्तासिनद्वारा मधेस र मधेसीलाई दबाउने प्रश्न छ । मधेसी अधिकार र सामन्तको प्रश्न छ । मधेस विकास र धेरै–धेरै आवश्यकताका प्रश्न छन् । त्यसको विकल्प आन्दोलन नै हो । तर, अर्काको भरमा आन्दोलन गरेर हुँदैन । अर्काको भात खाएर एजेन्डा बनाउन हुँदैन । मधेसले आफ्नै आँगनमा बन्द गर्न सक्नुपर्छ । मधेसीले आफ्नै बाहुबलमा आन्दोलन गर्न सक्नुपर्छ । निमुखा मधेसीको आवाज मुखतरित गर्नुपर्छ । अनि मात्र मधेस आन्दोलन सफल हुन्छ । आन्दोलनलाई दबाइएला, कुल्चिइएला । तर, मधेसलाई दबाउन सकिँदैन । मधेसीलाई कुल्चिन सकिँदैन । किनभने झन्डै आधा मुलुक मधेस हो । झन्डै आधा जनसंख्या मधेसी छन् । त्यसैले मधेस र मधेसीविना मुलुक चल्न सक्दैन । मधेस र मधेसीविना मुलुक मुलुक रहँदैन । मधेसको समस्या समाधान नगरी मुलुक सन्चो हुँदैन । तसर्थ, कसैले मुलुक बनाउनु छ, सत्ता चलाउनु छ वा सफलता हासिल गर्नु छ भने मधेस समस्या समाधान गरेर सिंगो मुलुकलाई जोड्न सक्नुपर्छ । होइन भने मुलुक द्वन्द्वग्रस्त रहन्छ । विग्रह भइरहन्छ ।

राणाहरूले मधेस र पहाडका लागि छुट्टाछुट्टै नियम बनाएका थिए । त्यसपछि राजतन्त्रमा समेत मधेसीलाई जहिल्यै भारतीयका रूपमा हेरियोे । शोषण, दमन भए । सत्ता र शक्तिकै आडमा मधेसको अवस्था जर्जर बनेको हो । तर, मुलुकको अवस्था सुध्रिएन । देशको अवस्था झन्झन् अधोगतितिर लाग्यो । त्यतिबेलादेखि अहिलेसम्म मधेसीलाई भेदभाव गरिँदै छ । यो कटु सत्य हो । अहिले पनि मधेसलाई तोडिँदै छ । त्यसरी देश बन्छ त ? त्यसैले मधेसलाई फोडेर होइन, जोडेर देश बनाउुनपर्छ । त्यसका लागि असल शासक आवश्यक छ । मधेसलाई षड्यन्त्रपूर्वक कमजोर बनाउन खोजिएको हो । मधेसलाई मात्र होइन, सिंगो मुलुकलाई नै कमजोर बनाउन खोजिएको हो ।

मधेस कमजोर छैन । सफलता मधेसको हातमा छ । फरक यतिमात्र हो, मधेस कसैको सत्ताको भर्याङ बन्न हुँदैन । कसैको हतियार बन्न हँुदैन । रह्यो नेपालमा संघीयताको कुरा । भारतले सिक्किम र भुटानमा गरेको प्रयोग नेपालमा पनि नगरेको होइन । तर, अहिलेसम्मको अभ्यासले के देखाएको छ भने नेपालमा गरिएजस्तै प्रयोग भारतका लागि ठीक उल्टो परिणाम ल्याइदियो । तसर्थ, भारतविरोधी जनमत बन्दै गयो । भारतले नेपालमा बारम्बार सत्ता र व्यवस्था परिवर्तनका लागि यति धेरै चलखेल गर्यो कि मुलुक अहिले संघीयतामा अड्किएको छ ।

संघीयता भारतका लागि निल्नु न ओकल्नु भएको छ । यो अदूरदर्शी नीति र ठोस विदेशनीति अभावको प्रतिफल हो । २००७ सालको परिवर्तनदेखि अहिलेसम्म भारतले नेपालमा धेरै हिसाब–किताब गरिसकेको छ । जति हिसाब–किताब गरे पनि हात लाग्यो शून्य भएको छ । उसले पछिल्लो समय मधेसमा हिसाब–किताब गर्दै आएको छ । नेपालमा फेरि पनि भारतविरोधी मानसिकता चुलिएको छ । गरिबले धनीलाई, दरिद्र, मुर्खले विद्वान्लाई, असभ्य र सानाले ठूलालाई काँतर देखेर घृणा गर्नु आत्मग्लानिमात्रै हो । सत्तासिनले मधेस र पहाडबीचको खाल्डो पुरी आपसी वैमनस्य हटाउँदै देश जोड्न सक्यो भने नेपाल द्रुत गतिमा आगाडि बढ्छ । त्यतिबेला उसलाई नाकाबन्दीले छेक्न सक्दैन । सबैभन्दा ठूलो विषय राज्यसत्ता मधेसप्रति इमानदार हुनुपर्दैन । देशप्रति इमानदार भए पुग्छ ।

प्रतिक्रिया