दाङका सुकुम्बासीहरुद्वारा रास्वपाका सांसदलाई जिल्ला प्रवेशमा निषेध गर्ने निर्णय

दाङका सुकुम्बासीहरुद्वारा रास्वपाका सांसदलाई जिल्ला प्रवेशमा निषेध गर्ने निर्णय


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ बैशाख २०८३
  • 1.2K
    Shares

पोखरा, १८ बैशाख २०८३।

दाङका सुकुम्बासीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुलाई जिल्ला प्रवेश गर्नमा रोक लगाउने निर्णय गरेका छन्।

उचित विकल्प र व्यवस्थापन बिना सुकुम्बासी बस्ती हटाउन थालिएको भन्दै आन्दोलित दाङका सुकुम्बासीहरूले (रास्वपा)का सांसदहरुलाई जिल्ला प्रवेश गर्नमा रोक लगाउने निर्णय गरेका हुन्।

काठमाडौँका विभिन्न क्षेत्रमा रहेका सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाउन शुरु गरेपछि त्यसको राप दाङसम्म आइपुगे पछि दाङका घोराही र तुलसीपुर क्षेत्रमा रहेका सुकुम्बासी संगठनहरूले बैठक बसी सरकारको यो कदमको कडा शब्दमा भर्त्सना गरेका छन् ।

उनीहरुले सरकार विरुद्ध नारा लगाउँदै घोराही र तुलसीपुरमा प्रदर्शन गरेका छन् । ‘बालेन सरकार मुर्दावाद’, ‘विकासका नाममा विस्थापन बन्द गर’, ‘सुकुवासी अपराधि होइनन्, यो देशका नागरिक हुन्‌’, ‘गरिबी हटाउ–गरिब होइन’, दमन होइन समाधान चाहिन्छ’ जस्ता नारा लगायएर प्रदर्शन गरेका छन् ।

हामी भूमिहिन अव्यवस्थित सुकुमवासी अभियानका संयोजक हरिश गिरीले आफुहरुलाई हुकुमवासीको ट्याग लगाउने गरिएको भन्दै आपत्ति जनाए । करिब ३३ वर्षअघि आफुहरुले तुलसीपुरमा ऐलानी जग्गामा बनाएको घरमा बसिरहेको बताउँदै उनले सरकारले डोजर चलाउँदा आफुहरु घरबारबिहिन हुने बताए ।

अव्यस्थित सुकुम्बासीहरूले चुनावका बेला रास्वपाले सुकुम्बासी बस्तीमा डोजर चल्न नदिने बताएको तर अहिले सरकारमा रहेकै बेला बस्ती उठीबास लगाउन थालिएको भन्दै उनीहरू आक्रोशित भएका छन् ।

दाङमा सुकुम्बासी र राजनीतिक दलका कार्यकर्ताबीच तनाव बढ्न सक्ने देखिएपछि स्थानीय प्रशासनले स्थितिमाथि निगरानी राखिरहेको छ । सुकुम्बासीहरूले ’विकल्प बिनाको विस्थापन स्वीकार्य छैन’ भन्दै चरणबद्ध आन्दोलनको चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया