मुरलीधरले हिन्दी फिल्म खेल्न किन छोडे?

मुरलीधरले हिन्दी फिल्म खेल्न किन छोडे?


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ असोज २०७३
  • 13.9K
    Shares

मुरलीधर

सन् १९८७ मा शेखर कपुरको निर्देशनमा ‘साइन्स फिक्सन’ फिल्म ‘मिस्टर इन्डिया’ बन्ने लगभग तय भएपछि यसको पात्रलाई लिएर ठूलो बहस भयो। फिल्मको कथा लेखिरहेका थिए, बलिउडका चर्चित जोडी सलिम (खान) र जावेद (अख्तर) ले।

कथा लेखनकै क्रममा तय भयो, फिल्म निर्माता बोनी कपुर भएका कारण मुख्य रोलमा अनिल कपुर। हिरोइनको रुपमा श्रीदेवी र भिलेनमा अमरीश पुरी। सलिम–जावेदले फिल्मको कहानी लेख्दा सुरुमा एउटा यस्तो पात्रको पनि परिकल्पना गरिएको थियो, जसको भूमिका अमरीश पुरीको ‘मोक्याम्बो खुस हुवा’ भन्दा कुनै दृष्टिकोणले कमजोर थिएन।

त्यो पात्र थियो, चिनियाँ वैज्ञानिकको। र, यो भूमिकाका लागि शेखर कपुरले चयन गरेका थिए, नेपाली कलाकार मुरलीधरलाई।

मुरलीधर सन् १९७८ देखि नै मुम्बईमा संघर्ष गरिरहेका थिए। तर, सन् १९८० मा भारतका चर्चित लेखक ख्वाजा अहमद अब्बासको ‘नक्सलाइट’ बाट सुरु भएको उनको फिल्मी करिअर त्यसै वर्ष बिएस थापाको निर्देशनमा बनेको ‘गंगाधाम’, १९८४ मा बनेको मिथुन चक्रवर्तीको हिट फिल्म ‘कसम पैदा कर्ने वालो कि’, यसै वर्ष बनेको राजबब्बर अभिनित ‘हम दो हमारे दो’ र सन् १९८५ मा नेपालमा सुटिङ भएको सत्रुघन सिन्हा र शशी कपुर अभिनित ‘भवानी जङ्सन’ पछि उचाइ छुदैं थियो।

यसैक्रममा शेखर कपुरले भिलेनको मुख्य भूमिका नभएपनि चिनियाँ वैज्ञानिकको भूमिका लामो र असरदार भएको भन्दै उनलाई फकाएका थिए। वास्तवमा चलचित्र निमार्णका क्रममा पनि मुरलीधरलाई लागेको थियो, मिस्टर इन्डियामा उनलाई दिइएको भूमिका पछि उनी रातारात मुम्बईको फिल्मी नगरीमा स्थापित कलाकारको रूपमा पहिचान बनाउन सफल हुनेछन्।

 

फिल्मको कहानी अनुसार मान्छे अदृश्य हुने घडीको ‘फर्मुला’ कि अनिल कपुरको पिताजी प्रोफेसर बर्मालाई थाहा हुन्छ कि मुरलीधरलाई प्रस्ताव गरिएको चिनियाँ वैज्ञानिकलाई। र, अन्तिमको दृश्यमा अनिल कपुरले अदृश्य हुने घडी लगाएपछि चिनियाँ वैज्ञानिक मुरलीधरलाई उल्टो झुण्डाएर तेजाबले बनाएको कुण्डमा झार्ने।

फिल्मको सबै दृश्य खिचिसकेपछि १८ हजार ‘एडिटेड’ दृश्यलाई एकै ठाउँमा राखेर हेर्ने क्रममा लेखक जावेद अख्तरलाई लागेछ, फिल्म त उत्कृष्ट भयो। तर, अमरीश पुरीको ‘मोक्याम्बो’ भूमिका लेखनीमा केही मिलेन कि! उनले फिल्म सबै दृश्य हेरिसकेपछि भनेछन्– ‘सबै उत्कृष्ट भयो। तर, मोक्याम्बोको भूमिकामा न्याय भएन।’

यसपछि ‘मोक्याम्बो’ को भूमिकालाई न्याय दिन ३५ दिन थप सुटिङ गरियो। र, मुरलीधरको सबै भूमिका काटेर अमरीश पुरीको भूमिका थप गरियो। यसक्रममा फिल्मको अन्त्यमा अमरीश पुरीलाई नै वैज्ञानिकको रूपमा ‘प्रोजेक्ट’ गरियो। र, उनलाई मारेपछि फिल्म समाप्त भयो।

 

यसै चक्करमा चिनियाँ वैज्ञानिकको भूमिकालाई एउटा दृश्यमा मात्र सिमित पारियो। फिल्म प्रदर्शनपछि मुरलीधर यति निरास बने, उनले हिन्दी फिल्म नै नखेल्ने अठोट गरे।

१५ वर्षपछि दशै मनाउन गत बिहीबार नेपाल फर्किएका चर्चित गायक तथा संगीतकार मुरलीधरले सेतोपाटीसँग भने– ‘वास्तवमा मैले हिन्दी फिल्म नखेल्नुको कारण यही हो।’

उनले यसपछि अमिताभ बच्चनको अनुरोध टार्न नसक्दा ९० को दशकमा बनेको राष्ट्रिय पुरस्कारबाट सम्मानित फिल्म ‘मै आजाद हूँ’ मा एउटा सानो भूमिका निर्वाह गरेका थिए। त्यसपछि उनी हिन्दी फिल्ममा देखिएका छैनन्।

उनलाई फिल्म खेल्न बलिउडमा थुप्रै कलाकारदेखि निर्देशकसम्मले आग्रह गरिरहेका हुन्छन्। तर, उनी आफूलाई मालपुवा होइन, रोटीले मात्र पेट भर्ने भन्दै फिल्म खेल्न अस्वीकार गर्दै आइरहेका छन्। ‘प्रस्ताव आउँछ, ठूलो भूमिका भनेर तर फिल्म रिलिज हुँदा आफ्नो भूमिका काटेर एउटा सिनमा मात्र सिमित बनाउछन्। त्यसैले मलाई हिन्दी फिल्म खेल्न मन लाग्दैन,’ ९० को दशकमा ‘उडायो सपना सबै हुरीले’ गाएर चर्चित बनेका ६४ वर्षीय यी कलाकार भन्छन्।

मुरलीधरको मूल घर सिरहाको औरही गाविसमा पर्छ। उनी नेपालका संगीतालंकार नथुनी मिजारका छोरा हुन्। मुरलीधरले युवा अवस्थामै भारतका चर्चित संगीतकार पद्म भूषणबाट सम्मानित पण्डित जसराजबाट शास्त्रीय संगीत सिकेका थिए।

उनले ७० को दशकमा काठमाडौंमा केही नाटक गरेका थिए। काठमाडौंमा बस्दा उनी असनको मख्खन गल्लीदेखि पाटनको कृष्ण मन्दिरसम्म पुगेर भजन गाउँथे। काठमाडौंमा आफ्नो करिअर अगाडि बढ्ने नदेखेपछि उनी सन् १९७८ मा भारत भाँसिएका थिए। त्यहाँ उनले आफ्नो स्थान बनाउन थुप्रै संघर्ष गर्नु पर्यो। अहिले उनी गीत गाउने मात्र गर्दैनन्। मैथली फिल्म पनि निमार्ण गर्ने गर्छन्।

भारतमा सफल भएपछि नेपालीहरूले आफ्नो परिचय बदल्नु सामान्य भइसकेको छ। तर, मुरलीधर अहिले पनि मुम्बईमा नेपाली बनेरै बसेका छन्। भन्छन्– ‘आफूलाई नेपालीभन्दा लजाउनुपर्ने इतिहास हाम्रो छैन। बरू पूर्खाले छाती फुलाउने काम नै गरेर गएका छन्।’ उनी हरेक वर्ष दशैमा मुम्बईमा बसोबास गर्ने नेपालीलाई जम्मा पारेर टीका थाप्ने गर्छन्।

१५ वर्षपछि दशैंको टीका थाप्न नेपाल आएका मुरली यसपालि आफूले छोडेर गएको गाउँ र गाउँलेको मनोविज्ञान टटोल्ने योजनामा छन्। भन्छन्– ‘मैले छोडेर जाँदा मेरो गाउँ मध्य तराइँमा पथ्र्यो। अहिले मधेश भन्न थालेका रहेछन्। म जन्मिएको ठाउँ तराइँमा पर्छ कि मधेशमा त्यो खोज्ने प्रयास गर्छु।’

प्रतिक्रिया