विवादमा परेपछि ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी

विवादमा परेपछि ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ साउन २०८३
  • 2.9K
    Shares

पोखरा, २ साउन २०८३।

निर्माणाधीन नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रमोशनल गीतलाई लिएर चर्किएको विवादपछि अभिनेत्री तथा निर्मात्री प्रियङ्का कार्की र गायक दुर्गेश थापाले सार्वजनिक रूपमा क्षमायाचना गर्दै उक्त गीत सबै डिजिटल प्लेटफर्मबाट हटाएका छन्।

शिक्षण पेसा र शिक्षकहरूको गरिमामा आँच पुग्ने खालका शब्द तथा दृश्य समावेश गरिएको भन्दै गीत सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। नेपाल शिक्षक महासंघले पनि गीतप्रति आपत्ति जनाउँदै आवश्यक कदम चाल्न माग गरेको थियो।

विवाद बढेपछि प्रियङ्का कार्कीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उक्त गीत चलचित्रको कथावस्तुको हिस्सा नभई प्रचारप्रसारका लागि मात्र तयार गरिएको स्पष्ट पारेकी छिन्।

उनले गीतमा प्रयोग भएका केही शब्द र दृश्यका कारण शिक्षक–शिक्षिकाको सम्मानमा ठेस पुगेको भन्दै आएका गुनासाहरूलाई आफूले गम्भीर रूपमा लिएको उल्लेख गरेकी छन्।

“उक्त गीतमा प्रयोग भएका केही शब्द र दृश्यले सम्मानित शिक्षक–शिक्षिका पेसा र यससँग जोडिएका आदरणीय व्यक्तित्वहरूको गरिमामा आँच पुगेको भनी आएका गुनासाहरूलाई मैले अत्यन्तै गम्भीरतापूर्वक लिएकी छु,” उनले भनेकी छिन्।

आफ्नो पहिलो निर्माण प्रयासमा कसैको आस्था, सम्मान वा भावनामा चोट पुर्‍याउने कुनै नियत नरहेको उल्लेख गर्दै उनले अन्जानमा भएको त्रुटिप्रति नेपाल शिक्षक महासंघ तथा सम्पूर्ण शिक्षक समुदायसँग क्षमायाचना गरेकी छन्।

साथै, विवादित गीत युट्युबसहित आफ्ना सबै सामाजिक सञ्जाल प्लेटफर्मबाट हटाइसकेको जानकारी दिँदै आगामी दिनमा विषयवस्तु छनोट र प्रस्तुतीकरणमा थप संवेदनशील र जिम्मेवार हुने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उता, गीतका गायक दुर्गेश थापाले पनि सार्वजनिक विज्ञप्तिमार्फत गीतका शब्द र प्रस्तुतिका कारण शिक्षक तथा दर्शकको भावनामा ठेस पुगेको स्वीकार गरेका छन्।

“हाम्रो उद्देश्य कुनै पनि पेसा वा व्यक्तिको भावनामा चोट पुर्‍याउने कदापि थिएन। प्राप्त सुझाव र आलोचनालाई आत्मसात् गर्दै मैले आफ्नो युट्युब च्यानलबाट उक्त गीत आधिकारिक रूपमा हटाइसकेको छु,” थापाले बताएका छन्।

उनले शिक्षकहरू समाजका मार्गदर्शक, ज्ञानका स्रोत र सम्मानका पात्र भएको उल्लेख गर्दै आगामी दिनमा थप जिम्मेवार र उत्कृष्ट सिर्जना लिएर आउने प्रतिबद्धता जनाएका छन्।

विवादपछि दुवै कलाकारले सार्वजनिक रूपमा माफी माग्दै गीत हटाउने निर्णय गरेसँगै तत्कालका लागि विवाद साम्य हुने संकेत देखिएको छ। यद्यपि, यस घटनाले सिर्जनात्मक स्वतन्त्रता र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्नुपर्ने विषयमा पुनः बहस सुरु गराएको छ।

प्रतिक्रिया