रवि–बालेनबीच पाँच घण्टा लामो भेटवार्तामा भयो के कुरा ?

रवि–बालेनबीच पाँच घण्टा लामो भेटवार्तामा भयो के कुरा ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ मंसिर २०८३
  • 1K
    Shares

काठमाडौं, ११ मंसिर २०८३।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच पाँच घण्टा लामो भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्री शाह सभापति लामिछानेलाई भेट्न बुढानीलकण्ठस्थित निवास पुगेका थिए।

लामिछानेको सचिवालयका अनुसार दुई नेताबीच करिब पाँच घण्टा आत्मीय र सौहार्दपूर्ण वातावरणमा समसामयिक राजनीतिक तथा सरकारी विषयमा छलफल भएको हो।

भेटवार्तामा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए। भारत भ्रमणका क्रममा भएका छलफल, द्विपक्षीय समझदारी तथा प्राप्त उपलब्धिबारे दुवै नेताबीच विचारविमर्श भएको बताइएको छ।

त्यस्तै, आगामी निर्वाचन र त्यसको तयारीका विषयमा पनि दुवै नेताबीच छलफल भएको छ। निर्वाचनलाई लक्षित गर्दै पार्टीले गर्नुपर्ने तयारी तथा संगठनात्मक गतिविधिबारे उनीहरूले कुराकानी गरेका थिए।

रास्वपाले आगामी दिनमा सञ्चालन गर्न लागेको पार्टी प्रशिक्षण अभियान पनि भेटवार्ताको अर्को महत्वपूर्ण विषय बनेको थियो। पार्टीको संगठन विस्तार, नेता तथा कार्यकर्ताको क्षमता अभिवृद्धि र प्रशिक्षण कार्यक्रम सञ्चालनका विषयमा छलफल भएको सचिवालयले जनाएको छ।

भेटमा सरकार सञ्चालनका विषयले समेत प्राथमिकता पाएको थियो। विभिन्न मन्त्री, मन्त्रालयको कार्यसम्पादन तथा सरकारका समग्र कामकारबाहीबारे प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच छलफल भएको बताइएको छ।

यसैगरी, सरकारले ल्याउन लागेका अध्यादेश तथा आगामी संसद् अधिवेशनका विषयमा पनि दुई नेताबीच कुराकानी भएको छ। संसद् अधिवेशन, विधेयक र अध्यादेशसँग सम्बन्धित विषयमा छलफल भएको सचिवालयको भनाइ छ।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार भेटवार्ता आत्मीय र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।

पाँच घण्टासम्म चलेको भेटवार्तामा भारत भ्रमणको उपलब्धि, सरकारको कार्यसम्पादन, पार्टीको संगठनात्मक अभियान, आगामी निर्वाचन र संसदीय कार्यसूचीसम्मका विषय समेटिएका छन्। यद्यपि, भेटवार्ताबाट कुनै औपचारिक निर्णय वा सहमति भएको विवरण सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार