पोखरा, ११ मंसिर २०८३ ।
मकवानपुरमा ट्रकले मोटरसाइकल किच्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान सामान्य घाइते भएका छन्।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रामा ना८ ख ११६१ नम्बरको खाली डिब्बा ट्रकले बाप्र०३–००५ प ५१४९ नम्बरको किच्दा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको हो भने चालक समेत रहेका श्रीमान सामान्य घाइते छन्।
प्रहरीका अनुसार पशुपतिनगरबाट कर्रातर्फ आउँदै गरेको बाप्र०३–००५ प ५१४९ नम्बरको मोटरसाइकल बिहीबार साँझ करिब ५ः३५ बजे पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत घरतर्फ मोडिने क्रममा अनियन्त्रित भई सडकमा लडेको थियो। सोही क्रममा हेटौँडा बजारतर्फबाट कर्रातर्फ जाँदै गरेको ना८ ख ११६१ नम्बरको खाली डिब्बा ट्रकको पछाडिको बायाँ चक्काले मोटरसाइकलमा पछाडि सवार हेटौँडा–४ श्रमिक टोलकी ६४ वर्षीया लक्ष्मीदेवी पाठकलाई किचेको थियो।
दुर्घटनामा गम्भीर घाइते पाठकलाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको थियो। अस्पताल पुर्याएको केही समयमै साँझ ५ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मोटरसाइकल चालक उनका ७० वर्षीय श्रीमान् श्यामप्रसाद पाठकको दाहिने खुट्टामा सामान्य चोट लागेको छ। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न ट्रक र चालक हेटौँडा–१३ पदमपोखरीका ४४ वर्षीय मनराज थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा ट्राफिक प्रहरीसहितको टोली खटिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।