पोखरा , ४ फागुन २०८२।
भारतीय सर्वोच्च अदालतले भारतीय चर्चित सङ्गीतकार एआर रहमानलाई दुई करोड रुपैयाँ धरौटी जम्मा गर्न आदेश दिएको छ।
‘सर्वोच्च अदालतले फिल्म ‘पोन्नियिन सेल्वन २’ को एउटा गीतको सङ्गीत चोरी गरेको मुद्दामा दोषी ठहर गर्दै यस अघि दिल्ली उच्च अदालतले गरेको फैसलालाई सदर गर्दै चर्चित सङ्गीतकार एआर रहमानलाई दुई करोड रुपैयाँ धरौटी जम्मा गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्त र न्यायमूर्ति जोयमाला बागचीको इजलासले शास्त्रीय सङ्गीतका सर्जकहरूले सम्मान र पहिचानको अपेक्षा गर्नु स्वाभाविक भएको टिप्पणी गरेको छ। अदालतले रहमानलाई दुई करोड रुपैयाँ अदालतमा जम्मा गर्न आदेश दिँदै थप जवाफका लागि फेब्रुअरी २० सम्मको समय दिएको छ।
अदालतले ‘पोन्नियिन सेल्वन २’ को फिल्मको ‘वीरा राजा वीरा’ बोलको गीत ठाकर बन्धुहरूको ‘शिव स्तुति’ बाट कपी गरिएको ठहर गर्दै दिल्ली उच्च अदालतको एकल इजलासको फैसलालाई सदर गरेको हो।
शास्त्रीय गायक फैयाज वसिफुद्धिन ठाकरले सन् २०२३ मा मणिरत्नम निर्देशित सो फिल्ममा आफ्नो बुबा र काकाले तयार पारेको ‘शिव स्तुति’ को सङ्गीत विना अनुमति प्रयोग गरिएको भन्दै मुद्दा दायर गरेका थिए। उनले एआर रहमान र निर्माण पक्षले आफूलाई उचित श्रेय र मुआब्जा दिनुपर्ने माग गरेका थिए। यद्यपि रहमानका वकिलले यो परम्परागत ध्रुपद शैलीको सङ्गीत भएको र यसमा कसैको एकल अधिकार नहुने तर्क गरेका थिए।
दिल्ली उच्च अदालतको एकल इजलासले यसअघि नै रहमानको सङ्गीतले याचिकाकर्ताको अधिकार उल्लंघन गरेको भन्दै दुई करोड रुपैयाँ धरौटी जम्मा गर्न र मुद्दालगत्तै दुई लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिएको थियो। साथै, सबै ओटीटी प्लेटफर्ममा सो गीतको ‘क्रेडिट स्लाइड’ परिवर्तन गरी ठाकर बन्धुको नाम उल्लेख गर्न समेत भनिएको थियो। उच्च अदालतको डिभिजन बेन्चले यो फैसला उल्टाए पनि सर्वोच्च अदालतले फेरि एकल इजलासकै पक्षमा निर्णय सुनाएको छ।