पोखरा , २ भदौ २०८३ ।
नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले वर्तमान बालेन शाह सरकारलाई अन्तरराष्ट्रिय अदालतमा उभ्याउने चेतावनी दिएका छन्।
उनीसंग वार्ता गर्न सरकारले वार्ता टोली नै गठन गरेको समाचारहरु सार्वजनिक भए लगत्तै प्रसाईले सरकारलाई त्यस्तो चेतावनी दिएका हुन्।
उनले गएराती एउटा भिडियो संदेश जारी गर्दै काठमाडौंमा बसोबास गर्दै आएका सुकुम्बासी तथा भूमिहीन नागरिकमाथि सरकारले बल प्रयोग गर्दै जबर्जस्ती हटाउने प्रयास गरेकोमा आपत्ति जनाएका छन्।
सरकारले नागरिकको मानवअधिकारको रक्षा गर्ने प्रतिबद्धता जनाउँदै आए पनि व्यवहारमा त्यसको विपरीत काम भइरहेको जिकिर गर्दै उनले नागरिकलाई बल प्रयोग गरेर हटाउनुको सट्टा उनीहरूको अवस्था बुझेर उचित व्यवस्थापन गर्न सरकारसँग माग गरे ।
प्रसाईले सम्बन्धित प्रशासनले तत्काल बल प्रयोग रोक्नुपर्ने र प्रभावित नागरिकलाई कुनै क्षति हुन नदिनुपर्ने बताए । साथै, घटनामा मानवअधिकार उल्लंघन भएको पाइए त्यसको जिम्मेवारी नेपाल सरकार तथा सम्बन्धित प्रशासनले लिनुपर्ने उनको दाबी ।
नेपाल सरकारलाई समयमै समस्या समाधान गर्न दबाब दिँदै, माग सम्बोधन नभए मुद्दालाई अन्तर्राष्ट्रिय मानवअधिकार निकायसम्म लैजाने चेतावनीसमेत दिए।
उनले नेपालका सम्पूर्ण मानवअधिकारवादी, नागरिक समाज तथा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूलाई घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रभावित नागरिकको अधिकार संरक्षणका लागि पहल गर्न आग्रह गरे।
अभियन्ताका अनुसार देशका विभिन्न स्थानबाट लामो तथा कठिन पैदलयात्रा गरेर काठमाडौं आएका नागरिकलाई सरकारले संरक्षण र सुरक्षित आवासको व्यवस्था गर्नुको सट्टा घर कब्जा गर्ने, सडकमा पुर्याउने तथा जबर्जस्ती हटाउने काम गरेको आरोप छ। उनीहरूले बालबालिकादेखि ८४ वर्षसम्मका वृद्धवृद्धासमेत प्रभावित भएको बताएका छन्।