दोस्रो संविधानसभा चुनावमा अप्रत्याशित नतिजापछि माओवादी अध्यक्ष प्रचण्डले ‘पाठ सिकेको’ भने र आगामी चुनावमा पार्टीलाई ‘पहिलो पार्टी’ बनाउने घोषणा गरे । त्यति मात्र होइन, उनले पार्टीलाई एक नम्वरको नबनाएसम्म आफू राष्ट्रपति र प्रधानमन्त्री पनि नबन्ने घोषणा गरेका थिए । आफ्नो घोषणालाई पुरा गर्ने गरी प्रचण्डले पार्टी संगठन निर्माणमा समय र उर्जा पनि खर्चेका थिए ।
०७२ असोज ९ मा सहकर्मी बाबुराम भट्टराईले डिभोर्स गरेपछि प्रचण्डले फेरि एक पटक एक नम्वरको पार्टी बनाउने घोषणालाई प्रचारमा ल्याए । पार्टी बैठकदेखि अन्य सार्वजनिक कार्यक्रममा उनले पटक–पटक एक नम्बरको पार्टी बनाउने घोषणा सुनाउथे । प्रचण्डले बाबुरामलाई ‘देखाइदिन’ मात्र होइन, भित्रैदेखि महसुस गरेर संगठन निर्माणमा गंभीरतापूवर्क काम गरेजस्तो देखिनथ्यो ।
माओवादी भनेकै प्रचण्ड जस्तै बनेको छ । प्रचण्डले पेरिसडाँडामा ध्यान नदिँदा के माओवादीले पुनर्जीवन पाउन सक्छ ? प्रचण्डका सहयोगीहरु के यस्तो काम गर्न सक्छन् ?
तेस्रो पार्टी हुँदा पनि संविधान जारीदेखि सरकार गठन र विघटनमा मुख्य भूमिकामा देखिदै आएका प्रचण्ड पूर्ववत अडानबाट पछाडि हटेर प्रधानमन्त्री बने । काँग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेपछि प्रचण्ड साउन १९ मा संसदबाट प्रधानमन्त्रीमा चयन भए । त्यसको अर्कोदिन सपथ लिएपछि प्रचण्डले सिंहदरवारमा प्रधानमन्त्रीको कुर्सीमा आसन ग्रहण गरे । सपथ लिएकै दिन प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडा परिसरमा रहेको शहीद स्तम्भमा माल्र्यापण गर्न गए । त्यसपछि प्रचण्डको ध्यान सम्पूर्ण रुपले सिंहदरवार र बालुवाटारमा केन्द्रीत छ । कहिलेकाँही पार्टी बैठकका लागि लाजिम्पाट चाहिँ जाने गरेका छन्, त्यो पनि प्राविधिक कारणले ।

माओवादी भनेकै प्रचण्ड जस्तै बनेको छ । प्रचण्डले पेरिसडाँडामा ध्यान नदिँदा के माओवादीले पुनर्जीवन पाउन सक्छ ? प्रचण्डका सहयोगीहरु के यस्तो काम गर्न सक्छन् ? घटनाक्रम र प्रचण्डपछि पार्टी नेतृत्वमा रहेका नेताहरुको कार्यशैलीले त्यो सम्भावना निकै कम देखाउँछ । प्रचण्डले सिंहदरवारमा बसेर जनपक्षीय काम गरेर चुनावमा ‘कम ब्याक’ गर्ने तयारी गरेको जस्तो देखिन्छ । तर, संगठन निर्माण अन्य नेताले प्रर्याप्त ध्यान नदिँदा प्रचण्डको ‘कम ब्याक’ हुने चाहना सपना मात्र बन्ने खतरा हुनेछ । प्रचण्डले आफु प्रधानमन्त्री भएपछि पनि पार्टी कमान्ड आफैसँग राखेका छन् । संक्रमणकालका लागि भएपनि उनले कसैलाई कार्यबाहक अध्यक्ष दिन आबश्यक ठानेका छैनन् ।
प्रचण्डपछि माओवादीका दोस्रो नेता हुन्, नारायणकाजी श्रेष्ठ प्रकाश । पार्टीभित्र विवाद जन्माउने र गुटको लाभहानीमा रमाउने उनको यो कार्यशैली प्रचण्डको सपनालाई पुरा गर्न सहयोगी हुने देखिन्न । अहिले उनी सरकार संचालन सहयोग समितिका संयोजक छन् । तर, यस अघि उनी केपी ओली सरकारको विपल्प खोज्ने प्रचण्डको प्रस्तावको विपक्षमा थिए ।
माओवादीभित्र उनलाई ‘प्राविधिक नेता’ ठान्ने ठूलो समूह छ, जसका कारण पनि आफै पहल लिएर नारायणकाजी संगठन बनाउन फिल्डमा जाँदैनन् । त्यसबाहेक काठमाडौंमा बस्ने, शीर्ष वैठकमा सहभागी हुने र मिडियासँग मात्र आफ्ना कुरा राख्ने उनको स्वभाव छ । प्रचण्ड सिंहदरवारमा व्यस्त भएपनि माओवादीलाई एक नम्वर बनाउने प्रचण्डको सपनालाई उत्तराधिकारी भएर नारायणकाजीले पुरा गर्ने सम्भावना निकै कमजोर देखिन्छ ।
नारायणकाजीपछि माओवादीमा तेस्रो बरियतामा छन्, रामबहादुर थापा बादल । गत जेठ ६ मा १० माओवादी घटकवीच भएको एकतापछि बादलको नयाँ राजनीतिक कोर्स शुरु भएको छ । माओवादीले अहिले उनलाई संगठन विभागको जिम्मा दिएको छ । उनले पनि संगठनको सम्पूर्ण कमान्ड लिएर प्रचण्डको उत्तराधिकारी भएर काम गर्ने मुड बनाएको देखिँदैन ।
पहल लिने र संगठन निर्माणमा सम्पूर्ण शक्ति लगाउने उनको स्वभाव छैन् । साँघुरो घेरामा बस्ने र सकेसम्म काठमाडौं बसेर राजनीतिलाई चलाउने उनको बानी छ । प्रचण्ड र बादलवीच सम्बन्ध राम्रो छ । काम गर्न चाहे प्रचण्डले बादललाई जिम्मा दिन पनि सक्छन् । तर, बादल आफैले ‘गियर’ बदल्न चाँहदैनन् । यस्तो अबस्थामा प्रचण्डको उत्तराधिकारी भएर उनले माओवादीलाई एक नम्वरको पार्टी बनाउँछन् भन्ने सम्भावना कहि कतै देखिदैन ।
नारायणकाजी र बादलपछि माओवादीमा तेस्रो बरियतामा देखिन्छन्, कृष्णबहादुर महरा । प्रचण्ड नेतृत्वको सरकार बनाउनका लागि सूत्रधारका रुपमा काम गरेका महरा अहिले अर्थमन्त्री छन् । प्रचण्डका विश्वास पात्रका रुपमा काम गर्ने महरा मन्त्री हुनु भन्दा अगाडि संगठन विभाग प्रमुख थिए । अर्थमन्त्रीका रुपमा उनले अहिले माओवादीालई पास गराउन भन्दा सरकारलाई नै पास बनाउन समय र उर्जा खर्चेका छन् । माओवादीहरुवीचको एकताका लागि उनले मिहिनेत पनि गरेका थिए । कहिले ५० करोडको टेप काण्ड, कहिले अजय सुमार्गीजस्ता विवादास्पद व्यापारीसँगको सम्बन्ध त कहिले अख्तियारको पत्रजस्ता काण्डले उनलाई सम्पूर्ण शक्तिका साथ संगठनमा काम गर्ने नैतिक बल छैन । पटक पटक लाभको पद लिएपनि नतिजा दिन नसकेको आरोप पनि उनीमाथि छ । पछिल्लो पटक बेइजिङबाट उनले दिल्ली तर्फ गरेको सिफ्टले पनि माओवादीभित्रको ‘राष्ट्रवादी’ भनेर चिनिने समूहले महरालाई मन पराउन छाडेको छ । महरा उत्तराधिकारी भएर पनि माओवादीलाई एक नम्वर बनाउन सक्छन् भन्ने विश्वास अरु नेता–कार्यकर्तालाई मात्र होइन, स्वयं प्रचण्डलाई पनि हुनुपर्छ ।
यी तीन नेता पनि माओवादीमा अगाडि आउँछन् टोपबहादुर रायमाझी । ओली सरकारका पाला उनी उपप्रधान एव्म उर्जा मन्त्री थिए । त्यस अघि पनि उनी पटक–पटक मन्त्री भए । तर, देशले सम्झिने गरी उनले काम गरेको उदारण छैन् । गृहजिल्ला अर्घाखाँचीमा विकास गरेर छवि बनाएपनि केन्द्रको संगठनभित्र उनको बलियो उपस्थिति छैन । बाबुराम माओवादीमा रहँदासम्म उनी बाबुराम समूहमा थिए । यसकारण अहिले पनि प्रचण्ड समुहमा रहेका माओवादी नेता–कार्यकर्ता रायमाझीलार्ई पूर्ण विश्वास गर्दैनन् ।
भूमिका दिँदा पनि प्रचण्डले यस्तै ब्यवहार देखाउने गरेको गुनासो उनले गर्दै आएका छन् । प्रचण्डले रायमाझीलाई उत्तराधिकारीका रुपमा सोच्दैनन् र रायमाझीले पाएपनि पार्टीलाई एक नम्वर बनाउने गरी काम गर्दैनन् भन्ने धेरै माओवादी नेता–कार्यकर्ताको बुझाई छ ।
टोपबहादुरपछि माओवादीमा चर्चामा आउने अर्का नेता हुन् गिरिराजमणि पोखरेल । ओली सरकारमा उनी शिक्षा मन्त्री थिए । भारतीय विद्यालयलाई स्वीकृत दिने, कन्सल्ट्यान्टहरुलाई अनुमति दिने देखि केही विवादास्पद निर्णयले मन्त्री हुँदा गरेका राम्रा काम पनि ओझेलमा परे । नारायणकाजी समूहका नेताका रुपमा आफुलाई अगाडि सार्ने पोखरेलसँग काम गर्ने क्षमता छ । तर, संगठनमा उनको उपस्थिति कमजोर छ । संगठनमा निर्णायक जिम्मा दिँदा नारायणकाजी समूहको हितमा काम गर्छन कि भन्ने उनीमाथि शंका माओवादीका नेता–कार्यकर्ता गर्ने गर्छन् । सभामुख जस्तो गरिमामय पद छाडेर मन्त्री खान दौडेपछि उनको नियतमाथि प्रश्न उठेको थियो । प्रचण्डले उनलाई उत्तराधिकारी बनाएपनि उनले एक नम्वरको पार्टी बनाउलान भन्नेमा धेरैको शंका छ ।
माओवादीभित्र आफुलाई प्रचण्डको उत्तराधिकारीका रुपमा बर्षमान पुन अनन्तले आफुलाई देखाउने गरेका छन् । ओली सरकार ढालेर प्रचण्डको नेतृत्वमा सरकार बनाउन महरासँगै यिनले पनि उत्तिकै भूमिका खेलेका थिए । दोस्रो संविधानसभा चुनावमा पर्यटकीय उम्मेदवार बनेर मोरङ गएपनि हार खानु पर्यो । सांसद नभएकाले मन्त्री हुने सम्भावना थिएन । त्यसैले उनले अहिले उनी प्रचण्डको अघोषित सल्लाहकारका रुपमा काम गर्छन् । प्रधानमन्त्री कार्यालयबाट हुने राजनीतिक नियुक्तिदेखि, सरुवा–बढुवा र ठेक्का–पट्टासम्ममा उनको प्रत्यक्ष चासो रहने गरेको छ । लालु यादवको शैलीमा पत्नीलाई अवसर दिलाएको, अवसरहरुमा रोल्पालाई अगाडि सारेको र जनजाती समुदायसँग अस्वभाविक निकटता राख्ने गरेका कारण उनी विवादमा आउँछन् ।
माओवादीभित्र अरु धेरै नेता छन्, जसले आफुलाई उत्तराधिकारीका रुपमा ठान्दैनन् । सहयोगी भएर काम गर्ने नेताहरुले काम पाए राम्रो गर्न सकिने बताउँदै आएका छन् । माओवादीको संगठन चेन अफ कमान्डमा चलेको छेन भन्ने राम्रो उदारण हो, उसको केन्द्रीय समिति ।
सात प्रदेशको संविधान जारी गर्ने बेला प्रचण्डसँग त्रीव असन्तुष्टि राखेका उनी पत्नी ओनसरी घत्र्ती सभामुख भएपचि चाहिँ चुप बसेका थिए । अर्थमन्त्री हुँदा केही जिल्लाको पार्टी ऋण तिर्न सहयोग गरेका कारण केही युवा नेता उनको पक्षमा छन् । तर, जुनियर नेतालाई ‘लिफ्ट’ चढाएर माथि लगिएको भन्दै माओवादीका पुराना नेता–कार्यकर्ता उनलाई प्राविधिक नेता मात्र ठान्छन् । कुनै बेला उनी बाबुराम नजिक बसेर पनि काम गरेका थिए । बाबुरामले प्रचण्डसँग डिभोर्स गर्नुपूर्व पनि उनीसँग फोनमा कुरा गरेका थिए । अनन्तलाई उत्तराधिकारी बनाएपनि प्रचण्डल भनेजस्तै माओवादी आगामी चुनावमा एक नम्वरको पार्टी हुनेमा माओवादी धेरै नेता–कार्यकर्तालाई शंका छ ।
विभिन्न घटकका माओवादीवीचको एकतापछि देवप्रसाद गुरुङ अहिले माओवादी केन्द्रका नेता भएका छन् । उनीपनि माओवादीका शीर्ष नेता मध्ये एक पर्छन । पार्टीविभाजन हुँदा मोहन वैद्यसँगै गएका उनी बादलसँगै एकीकरणमा आएका हुन् । लेख्ने र पढ्ने मामलामा उनी अगाडि छन् । तर, संगठन निर्माणमा उनको पकड प्रचण्डको स्पिरिटसँग मेल खाने छैन । एक पटक पार्टी विभाजन गरेर गएकाले उनलाई हेर्ने दृष्टिकोणमा माओवादीभित्र एकरुपता छैन् । यस्तो अबस्थामा उत्तराधिकारी भएपनि गुरुङले माओवादीलाई एक नम्वरको पार्टी बनाउँछन् भन्नेमा शंका देखिन्छ ।
माओवादीभित्र अरु धेरै नेता छन्, जसले आफुलाई उत्तराधिकारीका रुपमा ठान्दैनन् । सहयोगी भएर काम गर्ने नेताहरुले काम पाए राम्रो गर्न सकिने बताउँदै आएका छन् । माओवादीको संगठन चेन अफ कमान्डमा चलेको छेन भन्ने राम्रो उदारण हो, उसको केन्द्रीय समिति । संगठन विभाग प्रमुख बादलकहाँ ६ हजारको सूचि छ, केन्द्रीय सदस्यका लागि दावी गर्नेको । २५ सयको केन्द्रीय समिति त अहिले नै छ । विभिन्न भाृत संगठनमा पाँच हजार केन्द्रीय सदस्य छन् । पार्टी र भाृत संगठनका अधिकास केन्द्रीय नेता बेरोजगार छन् । आजका दिनमा पार्टीका धेरैजसो केन्द्रीय सदस्य गाँउ पालिकाको चुनाव जित्ने हैसियतमा छैनन् । तै पनि प्रचण्डसँग एक नम्बरको पार्टी बनाउने सपना छ । उत्तराधिकारीसाग त यो सपना पनि छैन ।
हुन त पार्टी संगठन एउटा नेताको बलमा मात्र बन्ने होइन । नेता–कार्यकर्ताको ठूलो पंक्तिको बलमा एक नम्वर पार्टी हुने हो । पहिलो संविधानसभामा माओवादी एक नम्वरको पार्टी बनेको थियो । त्यसपछि उसलाई धेरै हार र थारै जित हासिल भएको छ । प्रचण्ड नेतृत्वको सरकारमा महिलालाई फुल मन्त्री नबनाएपछि पम्फा भुसाल लगायतका महिला नेत्रीको मनमा पनि चिसो पसेको छ, पार्टीको नीति र कामबीच तालमेल नमिलेको हो कि भन्ने प्रश्न उठेको छ ।
हुन त राजनीतिमा असम्भव भन्ने केही हुँदैन । सफल प्रधानमन्त्री भएर चुनाव मार्फत आफुलाई फेरि सत्तामा पुर्याउने प्रचण्डसँग सुविधा र अवसर हुन सक्छ । तर, सडकले सत्तामा जान सजिलो बनाइदिन्छ, सत्ताबाट सत्ताको चक्र सहिजो हुँदैन ।
प्रचण्ड र उनको उत्तराधिकारी दावी गर्नेहरुले भुलेका छैनन् होला, आफ्नै सहकर्मीहरुका धेरै दुकान खुलेका छन्, ग्राहक उता पनि गएका छन् र व्यापार घटेको छ । प्रचण्डसँग वैद्य छैनन्, बाबुराम छैनन्, विप्लव छैनन् । तर, पनि प्रचण्डको एक नम्वर पार्टी बनाउने सपना थथावत छ । तर, दुर्भाग्य उनको गति बुझ्ने नेता छैनन् वा भएका नेतासँग पनि प्रचण्डको विश्वास छैन् । यही कारण प्रचण्ड सिंहदरवार पसेपछि माओवादीलाई आगामी ९–१० महिनामा ‘प्यरालाइसिस’ हुन खतरा छ । उत्तराधिकारीसँग यसलाई रोक्ने न जानकारी छ, न औषधी नै । प्रचण्ड आफैले पनि डब्बाबाट ‘टोनिक’ निकालेका छैनन् । ‘टोनिक’ ले पनि काम गरेन भने कसो होला ?