सुनसरीमा गएराती दुई समूहबीच झडप : सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु, १० जना घाइते

सुनसरीमा गएराती दुई समूहबीच झडप : सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु, १० जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ साउन २०८३
  • 1.1K
    Shares

पोखरा, ११ साउन २०८३।

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन्। सुनसरी प्रहरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइएलगत्तै आइतबार राति ११ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनामा अन्य १० जना घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम तथा नोबेल मेडिकल कलेजलगायतका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको र उनीहरूको परिचय खुल्ने क्रम जारी रहेको बताइएको छ।

प्रहरीका अनुसार साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि सप्तकोसी नदीतर्फ जान तयारी गरिरहेका युवाहरूले डिजे बजाइरहेका बेला अर्को समूहले रातिको समयमा अत्यधिक होहल्ला भएको भन्दै विरोध जनाएपछि दुई पक्षबीच भनाभन शुरु भएको थियो।

आइतबार राति करिब ९ बजेतिर सुरु भएको विवाद विस्तारै उग्र बन्दै झडपमा परिणत भएको स्थानीयवासीले बताएका छन्। झडपका क्रममा दुवै पक्षबाट आक्रमण, तोडफोड तथा आगजनीसमेत भएको जनाइएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुग्दा घर, मेडिकल पसल तथा सवारीसाधनमा तोडफोड र आगजनी भइरहेको प्रहरीले जनाएको छ।

स्थिति थप तनावपूर्ण बनेपछि इनरुवास्थित जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेर अवस्था नियन्त्रणमा लिन आवश्यक बल प्रयोग गर्ने निर्णय गरेको थियो। त्यसपछि सशस्त्र प्रहरीले गोली चलाएको जनाइएको छ।

घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया