काठमाण्डौ, ८ मंसीर २०८३।
साथीको कुटेर हत्या गरे पश्चात सिरक र डस्ना ओछ्याएर सुताइ छाडेर भागेका चार जना युवा सोलुखुम्बुबाट पक्राउ परेका छन्।
सोसोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका–४ बाबर्खामा लुखुम्बुमा ३५ वर्षीय अम्बर राईको कुटेर हत्या गरेको आरोपमा चार जना युवा पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा माप्य दुधकोशी–४ का ६० वर्षीय करबहादुर भन्ने कालीबहादुर राई, २३ वर्षीय रविन राई, ३२ वर्षीय अमन राई र २७ वर्षीय कुसल राई रहेका प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, उनीहरुले गएको मंसिर ५ गते राति करिब ११ः३० बजे बाबर्खास्थित कच्ची सडकमा सोही ठाउँका ३५ वर्षीय अम्बर राईलाई ढुङ्गा र मुक्काले मरणासन्न हुने गरी निर्घात रूपमा कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिए ।
हत्यापछि उनीहरु शवलाई घटनास्थलबाट करिब डेढसय मिटर तल लगेर सिरक र डस्ना ओछ्याएर सुताइराखेको अवस्थामा आइतबार बिहान ९ बजे फेला पारिएको थियो।
घटनाको सूचना पाउनासाथ परिचालित प्रहरी टोलीले मंसिर ६ गते नै हत्यामा संलग्न चारै जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक तामाङले बताए ।पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।