रुपन्देही, ८ साउन २०८३।
छोरामाथि चक्कु प्रहार गरी हत्या गरेको आरोपमा रुपन्देहीमा एक जना बाबु पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१०, मैनिहवाका ४५ वर्षीय सहसराम चौधरी रहेका छन्। उनलाई आफ्नै २१ वर्षीय छोरा सरोज चौधरीमाथि चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार बिहीबार बिहान ७ बजे घरायसी विवादका क्रममा सहसरामले छोरा सरोजमाथि चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते सरोजलाई तत्काल उपचारका लागि क्रिमसन अस्पताल, मणिग्राम लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएकोमा उपचारकै क्रममा बिहीबार साँझ ४ः४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि सरोज आफ्नै घरको सिँढीबाट लड्दा जमिनमा रहेको चक्कुले ढाडमा काटिएर घाइते भएको भन्दै क्रिमसन अस्पताल, मणिग्राममा जानकारी गराइएको प्रहरीले जनाएको छ।
तर, अस्पतालबाट प्राप्त सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवाद हुँदा सहसरामले नै सरोजमाथि चक्कु प्रहार गरेको खुलेको हो।
प्रहरीले सहसरामलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।