पोखरा , ४ मंसीर २०८३।
धादिङमा गएराति भएको बोलेरो जिप दुर्घटनामा घाइते भएका छ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाण्डौ पुर्याइएको छ।
रुबीभ्याली गाउँपालिका-४ स्थित सेर्तुङबाट बोराङतर्फ जाँदै गरेको बोलेरो जिप कलदाङमा गएराति करिब २ बजे दुर्घटनामा परेका ६ जना घाइतेहरूलाई नेपाल प्रहरी तथा स्थानीयको सहकार्यमा उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पुर्याइएको हो।
उक्त दुर्घटनामा बोलेरोमा सवार रुबीभ्याली गाउँपालिका-४ की ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको धादिङ प्रहरी प्रवक्ता (डीएसपी) प्रकाश दाहालले जानकारी दिए।
प्रहरीका अनुसार नौ घाइतेमा रुबीभ्याली गाउँपालिका-४ का ३५ वर्षीया कान्छीमाया तामाङ, ९ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, १४ वर्षीय कमल घले, ३३ वर्षीय मिजोङ तामाङ, २० वर्षीय विमल तामाङ र ४० वर्षीय चेरोङ तामाङ छन्।
यसैगरी बोलेरो चालक धादिङको खनियाबास गाउँपालिका-१ निवासी ४० वर्षीय डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका-११ निवासी २५ वर्षीय ललित बोम्जन पनि घाइते भएका छन्।
घाइतेमध्ये कमल घले, विमल तामाङ, ललित बोम्जनलाई बोराङ स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल धादिङ पठाइएको डीएसपी दाहालले बताए।
उनका अनुसार बाँकी ६ घाइतेलाई भने नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ।
लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ४ सय मिटर तल खसेको थियो।




