झापा, १२ साउन २०८३।
झापाको मेचीनगर नगरपालिका–६, काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिका मृत भेटिएकी छिन्।
सर्लाहीको लालबन्दी नगरपालिका–२ घर भएकी २९ वर्षीया कविताकुमारी ढुङ्गाना विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा मृत अवस्थामा भेटिएकी हुन्।
प्रहरीका अनुसार, ३० वर्षीय श्रीमान् रतन गुप्तासँग सोही कोठामा संगै बस्दै आएकी शिक्षिका ढुंगाना कोठामा बाहिरबाट ताला लगाइएको र कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
श्रीमान्–श्रीमती दुवै जना गत वैशाखदेखि उक्त विद्यालयमा अध्यापनरत थिए। विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदा रहेकामा सोमबार विद्यालय सञ्चालन भएपछि दुवै शिक्षक सम्पर्कविहीन रहेको पाइएको थियो। उनीहरू बस्दै आएको कोठामा बाहिरबाट ताला लगाइएको थियो भने फोन सम्पर्कसमेत हुन सकेको थिएन।
दिनभरि सम्पर्क हुन नसकेपछि सोमबार साँझ करिब ४:३० बजे रतन गुप्ताले प्रधानाध्यापक लुइँटेललाई वाट्सएपमार्फत सन्देश पठाएका थिए। सन्देशमा श्रीमतीलाई कोठाभित्र झुन्डिएको अवस्थामा फेला पारेको, आफूले अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट बाहिरिएको उल्लेख गर्दै ताला खोलेर कानुनी प्रक्रिया अघि बढाइदिन अनुरोध गरिएको प्रधानाध्यापक लुइँटेलले बताएका छन्।
स्थानीयवासीका अनुसार गुप्तालाई आइतबार साँझ करिब ५ बजे दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसयता उनी सम्पर्कविहीन छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले विद्यालय परिसरभित्र महिलाको शव फेला परेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको जानकारी दिएका छन्।
प्रहरीका अनुसार शिक्षिकाको मृत्युको कारण यकिन भइसकेको छैन। शव परीक्षणलगायतका प्रक्रियामार्फत घटनाको अनुसन्धान अघि बढाइएको छ भने सम्पर्कविहीन रहेका उनका श्रीमान्को खोजीसमेत भइरहेको प्रहरीले जनाएको छ।