कास्कीको अन्नपूर्ण गाउँपालिकामा पहिरोले पाँच परिवार प्रभावित, घरगोठ र पशुचौपायामा क्षति

कास्कीको अन्नपूर्ण गाउँपालिकामा पहिरोले पाँच परिवार प्रभावित, घरगोठ र पशुचौपायामा क्षति


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, १२ साउन २०८३
  • 969
    Shares

landslide in kaski , कास्कीको अन्नपूर्ण गाउँपालिकामा पहिरो

पोखरा, १२ साउन २०८३

कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, चानेमा पहिरो जाँदा पाँच परिवारका घरगोठ तथा पशुचौपायामा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार राति गएको पहिरोले स्थानीय प्रेम बानियाँको एकतले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। पहिरोले घरभित्र रहेका अन्नपात, लत्ताकपडा र भाँडावर्तनसमेत पुरिएका छन्।

त्यस्तै, छानबहादुर क्षेत्रीको घर चर्किएको छ भने करिब तीन रोपनी क्षेत्रफलमा लगाइएको अन्नबालीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

पहिरोका कारण स्थानीय राजमान विकको गोठमा क्षति हुँदा एउटा पाडो मरेको र एउटा भैँसी घाइते भएको छ। खुसीमाया विक र पूर्णबहादुर सुनारको घरसमेत पहिरोका कारण जोखिममा परेको प्रहरीले जनाएको छ।

घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्।

पहिरो गएको सूचना प्राप्त भएपछि इलाका प्रहरी चौकी घान्द्रुकबाट प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले स्थानीयसँग समन्वय गरी उद्धार तथा आवश्यक सहयोगका काम गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया